काठमाडौँ । केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनमा अपेक्षा अनुसारको परिणाम नआएको स्वीकार गरेका छन्।
नेकपा एमालेका अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुने भएकाले त्यसलाई शिरोधार्य गर्नु आफ्नो र पार्टीको कर्तव्य भएको बताएका हुन्।
उनले जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने उल्लेख गर्दै निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी साथ दिने मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक तथा समर्थकप्रति धन्यवाद व्यक्त गरेका छन्।
ओलीले परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता कमजोर नहुने बताए। जनताकै बीचमा रहेर काम गर्ने र विश्वासको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने उनको भनाइ छ।
साथ दिने सबैप्रति आभार व्यक्त गर्दै उनले लोकतान्त्रिक प्रक्रियामा जनताको निर्णयलाई सम्मान गर्नु नै मुख्य दायित्व भएको उल्लेख गरेका छन्।


