अर्घाखाँची । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत अर्घाखाँचीमा मतपरिणाम सार्वजनिक भएसँगै नेकपा एमालेका उम्मेदवार पिताम्बर भुसालले निर्वाचन परिणामलाई सम्मानपूर्वक स्वीकार गरेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले लोकतन्त्रमा जनअभिमत नै सर्वोच्च हुने उल्लेख गर्दै यसपटक मतदाताको विश्वास जित्न नसकेको बताएका हुन्।
नेकपा एमाले जिल्ला अध्यक्ष भुसालले सूर्य चिन्ह लिएर मतदाताको विश्वास जित्ने आशासहित चुनावी मैदानमा उत्रिएको स्मरण गर्दै परिणामलाई विनम्रतापूर्वक स्वीकार गरेको जनाएका छन्। साथै उनले विजयी उम्मेदवार हरिप्रसाद भुसाललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका हुन् ।
निर्वाचनका क्रममा साथ सहयोग र समर्थन गर्ने पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक, मतदाता तथा विभिन्न समितिमा खटिएका सबैप्रति उनले आभार व्यक्त गरेका छन्। निर्वाचन परिचालन समिति, अनुगमन, प्रचार, आर्थिक, युवा तथा सांस्कृतिक समितिमा रहेर योगदान गर्ने सबैप्रति उनले धन्यवाद ज्ञापन गरेका हुन् ।
त्यस्तै निर्वाचन सम्पन्न गराउन खटिएका कर्मचारी, शिक्षक, सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन कार्यालयका कर्मचारी, पत्रकार तथा मानवअधिकारवादी संस्थाहरूको भूमिकाको पनि उनले उच्च सम्मान गरेका छन्।
भुसालले राजनीतिमा पराजय अन्तिम सत्य नभई आत्मसमीक्षा र सुधार गर्ने अवसर हुने उल्लेख गर्दै जनताको विश्वास पुनः जित्ने प्रतिबद्धतासहित आगामी दिनमा निरन्तर सक्रिय रहने बताएका हुन् ।
उनले नव निर्वाचित प्रतिनिधि सभा सदस्यबाट सुशासन, पारदर्शिता, लोकतन्त्रको रक्षा, राष्ट्रियता संरक्षण तथा जिल्लाको विकासका लागि महत्वपूर्ण भूमिका रहने अपेक्षा व्यक्त गरेका छन्। भुसालले धैर्यता निरन्तरता र जनतासँगको अटुट सम्बन्धले भविष्यमा पुनः अवसर ल्याउने विश्वास व्यक्त गर्दै मतदाताको माया, साथ र विश्वासलाई सधैं प्रेरणाको स्रोतका रूपमा लिने बताएका हुन् ।

