अर्घाखाँची — अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिप्रसाद भुसालको जित सुनिश्चित भएको भन्दै चुनावी माहोल चासोपूर्ण बनेको छ। परम्परागत रूपमा पुराना दलहरूको प्रभाव रहेको जिल्लामा नयाँ दलको उपस्थितिले चुनावी बहसलाई फरक मोड दिएको छ। रास्वपाका स्थानीय नेता तथा कार्यकर्ताहरूले करिब ४ हजार मतान्तरले विजय हुने दाबी गरेका छन्।
पछिल्लो समय विभिन्न दलमा सक्रिय रहेका केही युवाहरू रास्वपामा आबद्ध हुन थालेका छन्। संगठन विस्तारमा यसले ऊर्जा थपेको बताइएको छ। लामो समयदेखि एउटै ढाँचाको राजनीति देख्दै आएको युवा पुस्ताले नयाँ विकल्प खोजिरहेको सन्दर्भमा रास्वपाप्रति आकर्षण बढेको देखिन्छ। परिवर्तनको भाष्य युवामाझ प्रभावकारी बनेको छ। जिल्लामा एउटा गाउँ करिब ८० जना रास्वपा प्रवेश गरेको समेत बताएका थिए ।
रास्वपा नेता प्रकाश बेल्बासेले अर्घाखाँचीमा ४ हजार मतान्तरले पार्टी विजयी हुने दाबी गरेका छन्। यस्तै पार्टी नेतृ सीता पराजुलीले “नयाँ परिवर्तनसँगै हाम्रो जित सुनिश्चित छ” भनेकी छन्। रास्वपा राजु खड्काले सम्भावना बलियो भएको बताए। रास्वपा निकट दिनेश सुनारले पनि जित नजिकै रहेको बताएका छन्।
अर्को महत्वपूर्ण पक्ष वैदेशिक रोजगारीमा रहेका मतदाता हुन्। अर्घाखाँचीबाट ठूलो संख्यामा युवा विदेशमा रहेका छन्। उनीहरूले आफ्ना घरपरिवारलाई “घण्टी” चिन्हमा मतदान गर्न आग्रह गरिरहेको चर्चा छ। प्रवासमा बसेर पनि राजनीतिक चासो राख्ने यो समूहले स्थानीय मतपरिणाममा प्रभाव पार्न सक्ने सम्भावना रहेको विश्लेषण गरिन्छ।
संगठन निर्माणमा केही कार्यकर्ता सक्रिय देखिएका छन्। नयाँ दल भएकाले संरचना विस्तारमा उत्साह देखिएको छ। साथै राष्ट्रिय तहमा रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहको प्रभावले पनि गाउँगाउँसम्म चर्चा बढेको समर्थकहरू बताउँछन्। नयाँ नेतृत्वप्रति केही आशा पलाएको उनीहरूको भनाइ छ।तर चुनौतीहरू पनि कम छैनन्। संगठन अझै परिपक्व भइसकेको छैन। गाउँ–टोलसम्म मजबुत संरचना र दीर्घकालीन कार्यकर्ता आधार बनिसकेको अवस्था छैन। विगतका निर्वाचनमा पार्टीको नतिजा कमजोर हुनु अर्को चुनौती हो, यद्यपि पछिल्लो निर्वाचनमा मतका आधारमा तेस्रो शक्तिका रूपमा उदाएको दाबी गरिन्छ। मतदातामाझ “जित्ने सम्भावना कति छ?” भन्ने प्रश्न उठिरहेको छ।
उम्मेदवार स्वयंले आफ्ना एजेण्डा प्रेसमिटमार्फत सार्वजनिक गरेका छन्। तर ती एजेण्डालाई अझ धारिलो र प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता रहेको टिप्पणी पनि सुनिन्छ। स्पष्ट योजना र ठोस दृष्टिकोण प्रस्तुत गर्न सकेमा मतदाताको विश्वास थप बलियो बन्ने विश्लेषकहरूको भनाइ छ।
सबैभन्दा ठूलो चुनौती भनेको पुराना दलहरूको बलियो संगठनात्मक जालो हो। वर्षौंदेखि गाउँगाउँमा जरा गाडेका संरचना, अनुभवी कार्यकर्ता र चुनावी अनुभव उनीहरूको पक्षमा छन्। त्यो संरचनालाई चुनौती दिन सजिलो नहुने आकलन गरिएको छ।
यद्यपि यदि उम्मेदवार हरिप्रसाद भुसाल निर्वाचित भएमा सांसदको भूमिकामार्फत नीति निर्माण, बजेट व्यवस्थापन र क्षेत्रीय मुद्दा केन्द्रसम्म पुर्याउने अवसर प्राप्त हुनेछ। नयाँ अनुहारका लागि संसद् अनुभव र अभ्यासको महत्वपूर्ण थलो हुन सक्छ।
अन्ततः अर्घाखाँचीका मतदाताले कस्तो निर्णय लिन्छन् भन्ने कुरा समयले देखाउनेछ। तर यस उम्मेदवारीले जिल्लाको राजनीतिक बहसलाई नयाँ आयाम दिएको भने निश्चित देखिन्छ। नयाँ आशा, पुराना संरचना र परिवर्तनको चाहनाबीचको प्रतिस्पर्धा यसपटकको निर्वाचनको मुख्य आकर्षण बनेको छ।

