अर्घाखाँची — प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिदै जाँदा अर्घाखाँची मा चुनावी माहोल तातिएको छ। यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार पीताम्बर भुसाल ले पत्रमार्फत मतदातालाई सन्देश दिँदै सूर्य चिन्हमा मतदान गर्न अपिल गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा उनले आफू यही माटोमा हुर्किएको नागरिक भएकाले जिल्लाका पीडा, सपना र सम्भावनासँग प्रत्यक्ष जोडिएको बताएका छन्। उनले वर्तमान निर्वाचनलाई देश र जिल्लाको भविष्य तय गर्ने महत्वपूर्ण मोडका रूपमा व्याख्या गर्दै मतदातालाई सोचविचार गरेर निर्णय लिन आग्रह गरेका हुन्।
भुसालले पार्टी अध्यक्ष के.पी. शर्मा ओली को नेतृत्वकालमा देशले स्थायित्व, आत्मविश्वास र विकासको स्पष्ट दिशा पाएको दाबी गरेका छन्। संविधान कार्यान्वयन, राष्ट्रिय स्वाभिमान, पूर्वाधार विकास र सामाजिक सुरक्षा विस्तारजस्ता उपलब्धिले जनतामा आशा र भरोसा बढाएको उनको भनाइ छ।
उनले जिल्लामा सुरु भएका विकास योजनालाई अधुरो नछोडी पूर्णता दिने प्रतिबद्धता व्यक्त गर्दै युवालाई अवसर, किसानलाई प्रोत्साहन, श्रमिकलाई सुरक्षा, भ्रष्टाचारमुक्त प्रशासन र उत्तरदायी शासन आफ्नो प्राथमिकता रहने उल्लेख गरेका छन्।
सन्देशमा उनले भनेका छन् “यो निर्वाचन केवल जित–हारको प्रश्न होइन, अर्घाखाँचीको भविष्य कता लैजाने भन्ने साझा निर्णय हो।” कुनै भ्रम वा प्रलोभनमा नपरी स्वाभिमान, समृद्धि र सुशासनका लागि सूर्य चिन्हमा मतदान गरी आफूलाई सेवा गर्ने अवसर दिन उनले मतदातासँग आग्रह गरेका छन्।
उनले मतदातालाई सम्बोधन गर्दै लेखेका छन् “यो चिठी केवल शब्दहरूको संग्रह होइन, यो मेरो जीवनको संघर्ष, तपाईंहरूको भरोसा र अर्घाखाँचीको भविष्यप्रतिको गहिरो प्रतिबद्धता हो। तपाईहरूको साथ, समर्थन र सहयोगले मात्र यो यात्रालाई सफल बनाउँछ। आउनुहोस्, मिलेर हाम्रो अर्घाखाँचीको उज्यालो भविष्य निर्माण गरौँ।”

