काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी प्रचारप्रसार शैलीको नयाँ शैली अपनाएको छ। सभापति रवि लामिछानेले आइतबार चुनावमा बाचा धेरैले धेरैपटक गरेको तर, पूरा नगरेर त्यसको परिणाम जनताले नै भाेग्नु परेको भन्दै आफूहरू बाचा नभई जनतासँग प्रतिज्ञाको करार (कन्ट्र्याक्ट) गर्ने बताएका छन्।
कुनै दुई वा सोभन्दा बढी पक्षहरूबीच कुनै काम गर्न वा नगर्नको लागि भएको कानुनी सम्झौतालाई करार भनिन्छ। रास्वपाले एकपक्षीय रूपमा आफूलाई ऋणी बताउँदै पाँच वर्षभित्र सदाचार र असल शासन, मध्यम वर्गीय विस्तार, काम, कनेक्टिभिटी र प्रवास गरी ५ क्षेत्रमा गर्ने कामको जानकारी गराएको छ। उक्त काम गर्न नसकेमा अर्को पटकको चुनावबाट सजाय दिई असुलउपर गर्न भनिएको छ।
रास्वपाले औसत वार्षिक प्रतिव्यक्ति आय ३००० डलर नघाउने बाचा गरेको छ। कुल गार्हस्थ उत्पादनको आकार १०० अर्ब डलर (प्रचलित मूल्यमा) गर्ने, शत प्रतिशत बीमा गरिएको गुणस्तरीय शिक्षा प्रदान गर्ने, सार्वजनिक शिक्षामा आमूल परिवर्तन गर्ने, जन्मदेखि मृत्युसम्म एकीकृत सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने बताएको छ। यसैगरी १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने बाचा पनि रास्वपाले गरेको छ।
रास्वपाको नागरिक करार पत्र



