अर्घाखाँची । जिल्लाको व्यापारिक गतिविधिको विस्तार तथा कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ आयोजना गरिएको सातौँ अर्घाखाँची महोत्सव २०८२ उत्साह रूपमा सम्पन्न भएको छ। अर्घाखाँची चेम्बर अफ कमर्सको आयोजनामा सन्धिखर्क नगरपालिका–१ कुडुलेफाँटमा सञ्चालन भएको महोत्सव आइतबार विशेष कार्यक्रम बीच सम्पन्न गरिएको हो।
गत पुस २७ गतेदेखि सुरु भएको महोत्सवले करिब दुई हप्ता अर्घाखाँची जिल्लालाई व्यापार, कलाकारको मनोरञ्जन र सांस्कृतिक उत्सवको केन्द्रका रूपमा स्थापित गर्यो। महोत्सव अवधिभर स्थानीयदेखि राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति, विविध व्यापारिक स्टल, कृषि उत्पादन तथा घरेलु उद्योगका सामग्रीहरूको प्रदर्शनीले दर्शकको ध्यान आकर्षित गरेको थियो।
समापन समारोहमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले यस्ता महोत्सवहरू स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रभावकारी माध्यम भएको बताएका थिए। उनले किसान, साना व्यवसायी र उद्यमीका उत्पादनले प्रत्यक्ष रूपमा उपभोक्तासम्म पहुँच पाउनु सकारात्मक पक्ष भएको बताए।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले महोत्सवले जिल्लाको आर्थिक गतिविधिलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्याएको धारणा व्यक्त गर्दै यस्ता कार्यक्रमले व्यापारसँगै सामाजिक र सांस्कृतिक एकता पनि मजबुत बनाउने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालसहित अन्य वक्ताहरूले महोत्सवको सफल आयोजना, व्यवस्थापन तथा भविष्यमा अझ व्यवस्थित र प्रभावकारी रूपमा निरन्तरता दिनुपर्ने विषयमा मन्तव्य राखेका थिए।
कार्यक्रम अर्घाखाँची चेम्बर अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। वरिष्ठ उपाध्यक्ष लिलाधर बस्यालले स्वागत मन्तव्य रहेको कार्यक्रममा सचिव प्रेम थापाले सञ्चालन गरेका हुन् । आयोजकका अनुसार महोत्सव अवधिभर ७० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् भने करिब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
महोत्सवले जिल्लाको आर्थिक चलायमानतामा उल्लेखनीय योगदान पुर्याएको स्पष्ट देखिएको आयोजकको भनाइ छ।
व्यापार, पर्यटन, कृषि र संस्कृति सबैलाई एउटै थलोमा जोड्न सफल यस महोत्सवले अर्घाखाँचीको पहिचानलाई अझ मजबुत बनाएको सहभागीहरूको प्रतिक्रिया रहेको थियो। संस्थाले आगामी वर्षहरूमा अझ व्यवस्थित, फराकिलो र प्रभावकारी रूपमा महोत्सव आयोजना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको थियो ।

