अर्घाखाँची । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मालारानी गाउँपालिकाबाट चार जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। एउटै पालिकाका, फरक राजनीतिक पृष्ठभूमि र रणनीति बोकेका यी उम्मेदवारबीच प्रतिस्पर्धा चर्को हुने संकेत देखिएको छ।
एमाले र माओवादी केन्द्र एकीकृत हुँदा रामबहादुर चौहान एमाले जिल्ला सचिव थिए भने पीताम्बर भुसाल जिल्ला कमिटी सदस्य थिए। २०६९ सालको एमाले सातौँ जिल्ला अधिवेशनमा चौहान सचिव निर्वाचित भए भने भुसाल पराजित भए। त्यसपछिका वर्षहरूमा पार्टी एकता, विभाजन र पुनर्गठनको राजनीतिक उतारचढावसँगै दुवै नेताको बाटो फरक दिशामा मोडियो।
नेकपा विभाजनपछि माधव नेपाल नेतृत्वको नयाँ पार्टी निर्माण हुँदा चौहानले जिल्लामा विद्रोही धारको नेतृत्व गरे। त्यसपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य हुँदै हाल माओवादी र नेकपा एसबीचको एकीकरणपछि बनेको नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यका रूपमा उनी सक्रिय छन्।
भुसाल भने एमालेमै रहेर संगठन विस्तारमा केन्द्रित भए। अहिले उनी एमाले अर्घाखाँचीका जिल्ला अध्यक्ष हुन् र दोस्रो कार्यकाल सम्हालिरहेका छन्।
चौहान र भुसाल दुवै मालारनी गाउँपालिका–५ बाँगी गाउँका नेता हुन्। पार्टीभित्र रहँदा उनीहरू कहिले सहकार्य, कहिले प्रतिस्पर्धाको सम्बन्धमा रहे। संयोग नै मान्नुपर्छ, अहिले दुवै जना पहिलो पटक प्रतिनिधिसभा सदस्य बन्ने लक्ष्यसहित आमनेसामने छन्। ५६ वर्षीय चौहान र ५४ वर्षीय भुसाल दुवै स्नातक उत्तीर्ण हुन्। संगठन बलियो भएको पार्टी उम्मेदवारका रूपमा भुसाल देखिन्छन् भने व्यक्तिगत प्रभाव र मत तान्ने क्षमतामा चौहानलाई बलियो मानिन्छ।
भुसाल २०५४ सालमा २५ वर्षकै उमेरमा बाँगी गाविस अध्यक्ष निर्वाचित भएका थिए। विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा गाउँ, इलाका, क्षेत्र हुँदै जिल्लासम्म पुगेको छ। एमाले वृत्तमा उनलाई अनुशासित र कुशल संगठकका रूपमा लिइन्छ।
चौहान भने पहिलो पटक संसदीय चुनावमा होमिएका हुन्। अखिलबाट विद्यार्थी राजनीति सुरु गरेका उनले स्ववियु सभापति, अखिल जिल्ला अध्यक्ष, युवा संघ जिल्ला अध्यक्ष हुँदै एमाले जिल्ला सचिवालय सदस्यसम्मको जिम्मेवारी सम्हालेका छन्।
कानुन व्यवसाय, स्वास्थ्य संस्था, सामुदायिक सुरक्षा र पत्रकारितामा समेत अनुभव सँगालेका चौहानलाई बहुआयामिक पृष्ठभूमि भएको नेताका रूपमा चिनिन्छ। यसै पालिकाबाट ४९ वर्षीय रवि शाह स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा छन्। लामो समय जिल्लाबाहिर व्यवसाय गर्दै आएका शाह जिल्ला फर्किएर संघीय सांसदका लागि प्रतिस्पर्धामा उत्रिएका हुन्।
कांग्रेसतर्फबाट मालारानी गाउँपालिका–४ खनका विष्णुप्रसाद खनाल (मुस्कान) उम्मेदवार छन्। प्रदेश सहमहामन्त्री खनालले नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका हुन्। २०५४ सालमा शिक्षकको स्थायी जागिर त्यागेर खन गाविस अध्यक्षको चुनाव लडेका उनी ०७४ मा प्रदेशसभा सदस्यको उम्मेदवार पनि बने। दुवै पटक पराजय व्यहोरेका खनाल यसपटक पहिलो पटक प्रतिनिधिसभा चुनावमा छन्।
पत्रकारिता, मानव अधिकार र शैक्षिक संस्थामा काम गरेको अनुभव भएका खनाललाई कांग्रेस वृत्तमा संगठन र रणनीति दुवैमा दख्खल राख्ने नेता मानिन्छ।
पार्टी संगठनको बल, व्यक्तिगत प्रभाव र चुनावी रणनीतिका हिसाबले एउटै गाउँपालिका भित्रका भुसाल, चौहान र खनालबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। स्वतन्त्र उम्मेदवार शाहले कति प्रभाव पार्न सक्छन् भन्ने कुरा भने मतदाताको निर्णयले तय गर्नेछ।

