काठमाडौँ। निर्वाचन आयोगले मतदाताको गोपनीयता सुरक्षित गर्दै राजनीतिक दल र उम्मेदवारलाई मतदाता नामवली उपलब्ध गराउने व्यवस्था गरेको छ।
आयोगले जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरजस्ता संवेदनशील विवरण भने कुनै हालतमा उपलब्ध नगराइने स्पष्ट पारेको छ।प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार आयोगमा दर्ता भएका राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि देशभरको मतदाता नामवली लिन चाहेमा १० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ। यस्तो विवरण दलको औपचारिक पत्रका आधारमा विद्युतीय माध्यम (हार्डड्राइभ वा पेनड्राइभ) मार्फत उपलब्ध गराइने आयोगले जनाएको छ।
एउटा प्रदेशको मात्र मतदाता विवरण आवश्यक परेमा पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ। तर उपलब्ध गराइने विवरणमा मतदाताको व्यक्तिगत पहिचान खुल्ने संवेदनशील सूचना समावेश गरिने छैन। निर्देशिकाले मतदाता नामवली हेर्ने र सार्ने क्रममा नामवली च्यात्न, बिगार्न वा केरमेट गर्न नपाइने व्यवस्था पनि गरेको छ। निर्वाचन अधिकृतले मतदाता, दलका प्रतिनिधि वा उम्मेदवारलाई आवश्यक परे नामवली हेर्न र आफ्नै खर्चमा सार्न दिनुपर्नेछ।
फोटोसहितको मतदाता नामवली सम्बन्धित मतदाताले मात्र हेर्न पाउनेछन् भने फोटोबाहेकको नामवली सर्वसाधारणले पनि हेर्न सक्ने व्यवस्था गरिएको छ। यदि कुनै मतदाताले आफ्नै विवरणको प्रतिलिपि लिन चाहेमा निर्वाचन कार्यालयले १० हजार रुपैयाँ शुल्क लिएर सो मतदाताको मात्र विवरण आउने गरी नामवली उपलब्ध गराउनुपर्नेछ।
यस्तै, आयोगमा दर्ता भएका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले जिल्लाभरको मतदाता नामवली लिन तीन हजार रुपैयाँ र कुनै एक निर्वाचन क्षेत्रको विवरण लिन पनि तीन हजार रुपैयाँ तिर्नुपर्नेछ। तर यस अवस्थामा पनि जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बर दिइने छैन।
( यो समाचार नेपाल क्लिक्स बाट लिएका हौं )

