बुटवल । एमालेका विद्यार्थी युवानेता तथा अनेरास्ववियु केन्द्रीय सदस्य निरज आचार्यले सामाजिक सञ्जालमार्फत वर्तमान राजनीति र आन्दोलनको चरित्रमाथि कडा टिप्पणी गरेका छन्।
उनले लेखेका छन् “रगतले लतपतिएको गोल्डस्टार जुत्ता हिजो आन्दोलनको प्रतीक थियो, आज जुत्ताको मालिक समानुपातिक सांसद बनेका छन् भने जुत्ता लगाएर लड्ने युवा बैसाखीको सहारामा छन्।” आचार्यले यसलाई नयाँ जेनेरेसनको आन्दोलन र राजनीतिले दिएको ‘न्याय’ का रूपमा व्याख्या गरेका छन्।
आचार्यका अनुसार अबको चुनाव अनुहार छान्ने होइन, मानक बदल्ने लडाइँ हो। उनले नारा भन्दा नीति, भावनाभन्दा दृष्टिकोण र अस्थिरताभन्दा निर्माण रोज्नुपर्ने समय आएको बताएका छन्। “यो चुनाव देश जलाउने कि बनाउने भन्ने निर्णय हो, पेट्रोल बम कि पेट्रोलियम खोज्ने भन्ने छनोट हो,” उनले उल्लेख गरेका छन्।
उनले उद्योग जलाउने राजनीति र स्टार्टअप उभ्याउने सोचबीच स्पष्ट बहस आवश्यक रहेको बताएका छन्। साथै, लैनचौरको चिठी मान्ने प्रवृत्ति र चुच्चे नक्सा बोकेर राष्ट्रियता जोगाउने अडानबीचको छनोट नै आगामी चुनावको सार भएको उनको भनाइ छ।
आचार्यले विदेशी दलालको मुख हेर्ने राजनीति र स्वाभिमानी युवाको आवाज बन्ने नेतृत्वबीच टक्कर हुने स्पष्ट पारेका छन्। अन्ततः उनले यो चुनाव विकासवादी राष्ट्रियता र परिवर्तनको नाममा अवसरवादी बनेकाहरूबीचको निर्णायक प्रतिस्पर्धा हुने दाबी गरेका छन्।

