प्यूठान। प्यूठानको झिमरुक गाउँपालिका–७ शोकमा डुबेको छ। ७१ वर्षका शिवलाल जैसीको मुटु रोगका कारण उपचारकै क्रममा निधन भएपछि उनको परिवार एकाएक सहाराविहीन बनेको छ।
मुटुसम्बन्धी समस्याले थलिएका जैसी केही दिनअघि लडेर घाइतेसमेत भएका थिए।घरमा उनका १३ वर्षका छोरा सजन सुवेदी र १० वर्षकी छोरी छन्। आमाको नाम रिमा जैसी। तर आमा हुँदा पनि छोराछोरी ढुक्क हुन सक्ने अवस्थामा छैनन्। रिमा जैसी अपांग छिन्। राम्रोसँग सुन्न सक्दिनन्, बोल्न सक्दिनन् र मानसिक अवस्था पनि सुस्त छ। आमाको स्याहार–सुसार गर्ने जिम्मेवारी उल्टै यी नाबालक दाजुबहिनीमाथि छ।
अहिले परिवार बुवाको निधनको शोकमा छ। काजकृयाको तयारी चलिरहेको छ तर १३ औं दिनको खर्च कसरी जुटाउने भन्ने चिन्ताले परिवारलाई झनै थिचेको छ। भविष्यको चिन्ता त झनै ठूलो छ।
“हामी सानै छँदा बुवा जानुभयो। सबै आश उहाँमै थियो,” कक्षा ७ मा पढ्ने सजनले आँखा रसाउँदै भने, “घरमा खानाको खर्च जुटाउन गाह्रो छ। बुवाको काजकृया कसरी गर्ने भन्ने चिन्ता लागिरहेको छ।” उनकी बहिनी कक्षा ५ मा पढ्छिन्।
शिवलाल जैसीले मजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएका थिए। उनको निधनसँगै परिवारको आयस्रोत पूर्ण रूपमा बन्द भएको छ। झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलका अनुसार अहिले यी नाबालक दाजुबहिनीको अवस्था अत्यन्तै दयनीय छ।
पढाइ निरन्तरता दिने कि पेट भर्ने भन्ने दोधारमा परिवार परेको छ। एकछाक खान र विद्यालय जान दुवै कुरा हम्मेहम्मे भएको छ। यही अवस्थालाई देखेर सुवेदी परिवारले सबैलाई सक्दो सहयोग गरिदिन सार्वजनिक अपिल गरेका छन्।
दुःखको घडीमा झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल परिवारको सहारा बनेका छन् । परिवारको पीडा थाहा पाउने बित्तिकै झिमरुक गाउँपालिकाका उपाध्यक्ष पोख्रेल उनीहरुको घर पुगे। यसअघि पनि पालिकाभरिका पीडितको घर–घरमा पुगेर सहयोग संकलन र उपचारमा साथ दिँदै आएका पोख्रेलले यस परिवारको विषयलाई पनि गम्भीर रूपमा लिएका छन्।
“छोराछोरी नाबालक छन्। आमा केही गर्न सक्ने अवस्थामा हुनुहुन्न। अवस्था अत्यन्तै पीडादायी छ,” पोख्रेलले भने, “मैले आजैदेखि सबैलाई सार्वजनिक अपिल गरेको छु। सबैको सानो सहयोगले पनि यी नाबालक छोराछोरीको भविष्य उज्यालो बनाउन सकिन्छ।”
दुःखको यस घडीमा सुवेदी परिवारलाई आर्थिक, शैक्षिक र मानवीय सहयोगको खाँचो छ। सानो सहयोगले पनि यो परिवारको जीवनमा ठूलो राहत पुग्ने आशा आफ्नतले गरेका छन् ।

