अर्घाखाँची । अर्घाखाँची मालारानी–५ बाँगीका कलाकार कमल खड्काले आफ्नो नयाँ म्युजिक भिडियो “उमेर भैसको” सार्वजनिक गरेका छन्।
पेशाले राष्ट्रसेवक कर्मचारी रहेका खड्का लामो समय शिक्षण पेशामा सक्रिय थिए। काठमाडौंका विभिन्न विद्यालयमा झन्डै सात वर्ष र अर्घाखाँचीका सिद्धार्थ मावि र आदर्श माविमा करिब दस वर्ष गणित शिक्षकका रूपमा काम गरिरहेका उनले हाल नेपाल विद्युत प्राधिकरणमा सेवा दिँदै आएका छन्।
करिब पन्ध्र वर्षको शिक्षक जीवनमा गणितमा जिल्लास्तरमै उत्कृष्ट नतिजा दिन सफल रहेका खड्का सानैदेखि गीत–संगीतमा रुचि राख्छन्। विद्यार्थी जीवनमै लोकगीत र दोहोरी प्रतियोगितामा भाग लिनु, पुरस्कार जित्नु, जनबादी गीत लेखन र गायनमा सक्रिय हुनु उनका पहिलाका पहिचान हुन्। देशको राजनीतिक परिस्थितिलाई केंद्रित गरेर उनले सिर्जना गरेका गीत “के पाइन्छ बोकेर राइफल” र “खोजौँ सबै संकटका हलहरु” अहिले पनि उनको स्मरणमा छन्। पछिल्लो गीतका कारण उनी तत्कालीन प्रधानमन्त्री झलनाथ खनालबाट सम्मानित पनि भएका थिए।
२०७३ सालमा “डुल्दा फुलमा मौरी र भमरा” बोलको गीतमार्फत पुनः संगीतमा सक्रिय रहेका खड्काले यसपटक युवायुवतीको भावनालाई केन्द्रमा राखेर “उमेर भैसको” गीत ल्याएका छन्। आफ्नै शब्द र लयमा तयार गरिएको गीतमा शान्ति श्री परियारले साथ दिएकी हुन् । बिनोद बाजुरालीले एरेन्ज गरेका छन्।
म्युजिक भिडियोमा तेजेन्द्र परियार, रितु बस्नेत र पाल्देन लामाको दमदार अभिनय छ। उनका दाजु स्वर्गीय बिष्णु खड्काको तस्बिर समेत समावेश गरिएको म्युजिक भिडियोलाई दुर्गा श्रेष्ठले निर्देशन गरेका छन्। छायांकन श्रेष्ठको टोलीले गरेको छ भने अनील बिष्टा प्युठानीले सम्पादन र रंगसमायोजन गरेका छन्। म्युजिक भिडियो खड्काकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। यस गीतले सामाजिक सञ्जालमा सेयर अनि सकारात्मक प्रतिक्रिया बटुल्दै गएको पाइएको छ ।
भिडियो :

