काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सिमरा विमानस्थलमा जेनजी समूहले देखाएको व्यवहारलाई जेनजी भावनाको सही अभिव्यक्ति नभई त्यसको दुरुपयोग भएको टिप्पणी गरेका छन्।
एमाले नेताहरू शंकर पोखरेल र महेश बस्नेत प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन सिमरा झर्दै छन् भन्ने जानकारी पाएपछि जेनजी समूहले विमान अवतरण गर्न नदिने भन्दै आन्दोलन गरे। स्थिति तनावपूर्ण भएपछि जिल्ला प्रशासनले राति ८ बजेसम्म कर्फ्यु लगायो।
घटनापछि शर्माले सामाजिक सञ्जालमा जेनजीको स्वतन्त्र अभिव्यक्तिलाई समर्थन गर्नेहरू, कसैको आवागमन रोक्ने कदममा उभिन नसक्ने बताए। उनका अनुसार भ्रमण र आवागमन संविधानले दिएको हक हो र त्यसलाई कुण्ठित गर्नु गलत अभ्यास हो।
शर्माले निषेध र आवेगले राजनीति चल्दैन भन्दै संयम र एकताको आग्रह गरे। उनका अनुसार अहिलेको आवश्यकता भनेको एमाले चुनावमा आउन हौसला दिनु हो, रोकथाम गर्ने वातावरण सिर्जना गर्नु होइन।
‘कसैको भ्रमण रोक्नु समाधान होइन, उल्टो द्वन्द्व बढाउने काम हो,’ भन्दै उनले प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गरे। ‘एकै चोटी देशभर स्वाभाविक रूपमा भ्रमण गर्न नदिए चुनाव कसरी चल्छ ?’ उनको प्रश्न थियो।

