अर्घाखाँची — मदन भण्डारी फाउन्डेशन अर्घाखाँचीका अध्यक्ष तथा एमाले नेता श्रीकृष्ण भुसालले सामाजिक सञ्जालमार्फत नेपालको वर्तमान राजनीतिक अवस्था र दलभित्र सुधारको आवश्यकता सम्बन्धी विचार व्यक्त गरेका छन्।
उनले लेखेका छन् “सक्किनुको एक मात्र विकल्प सच्चिनु हो।”
भुसालका अनुसार नेपाली कांग्रेस, एमाले, नेकपा, रास्वापा र राप्रपा लगायतका प्रमुख दलहरूका संस्थापन पक्षहरू सुधार र पुनर्गठनको आवश्यकता महसुस गर्न तयार छैनन्। नयाँ राजनीतिक शक्ति वा स्वतन्त्र समूहलाई पनि सहज रूपमा स्वीकार्न पुराना दलहरू हिचकिचाउँछन् भने नयाँ शक्तिहरूले पनि पुराना दलभित्र सुधारको सम्भावनालाई अस्वीकार गरेको बताए ।
उनले अहिले देशमा परस्पर निषेध गर्ने प्रवृत्ति हावी भएको बताउँदै भनेका छन् “नेपालको वास्तविक आवश्यकता भनेको अस्तित्वमा रहेका दलहरू सुध्रिनु र पुनर्गठित हुनुका साथै नयाँ दल र स्वतन्त्र शक्तिलाई पनि स्वीकार गर्नु हो।”
अध्यक्ष भुसालले हरेक दलभित्रका परिवर्तन पक्षधर नेताहरूलाई सक्रिय हुन आह्वान गर्दै लेखेका छन् “यो बेला सबै दलभित्रका सुधार पक्षधर नेताहरूले आफ्नै पार्टी मुख्यालय ‘बमवार्ड’ गर्नुपर्ने बेला हो। पुराना गलत प्रवृत्तिको अन्त्य बिना नयाँ असल अभ्यासको सुरुवात सम्भव छैन।”
उनले दलभित्र सुधार चाहनेहरू अहिले दोहोरो चेपुवामा परेको उल्लेख गर्दै त्यस अवस्थालाई “प्रसव पीडा”को रूपमा सहने र त्यसैबाट नयाँ सुधारको जन्म दिने समय आएको बताएका छन्।
“दलहरू नै परिवर्तन, विकास, समृद्धि र सुशासनका संवाहक हुन्। त्यसैले पुराना दलहरूले सच्चिन नसके सक्किन तयार हुनुपर्छ।”
बदलिँदो राजनीति प्रति टिप्पणी गर्दै पुराना दलहरूको अस्तित्व रक्षा गर्नका लागि तिनीहरू भित्रैबाट सुसंस्कृत, प्रगतिशील र पुनर्गठित नयाँ शक्तिको उदय अनिवार्य छ। उनले भने ।

