अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क–२ मा अवस्थित त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

कार्यक्रम संस्थाका अध्यक्ष कमलप्रसाद घिमिरेको अध्यक्षतामा भएको थियो। सभामा संस्थापक अध्यक्ष गोविन्द बहादुर भट्टराई क्षेत्री, पूर्व अध्यक्षहरू चन्द्रप्रसाद बन्जाडे र उत्तममणि मिश्रलगायतका अतिथि र सरोकारवालाको उपस्थिति थियो।
साधारण सभामा १२०२ जना शेयर सदस्य सहभागी थिए। अध्यक्ष घिमिरेले वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने सचिव नारायणप्रसाद भुसालले आर्थिक वर्ष २०८१/८२ का गतिविधि र आगामी वर्ष २०८२/८३ का योजना सार्वजनिक गरे।
कोषाध्यक्ष शिव बेल्वासेले वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कुल कायम बचत १३ करोड ६४ लाख ६६ हजार २ सय ३६ रुपैयाँ ५७ पैसा पुगेको जानकारी दिए। लेखा संयोजक रामलाल भुसालले लेखा प्रतिवेदन पेश गरे, जसमा सदस्यहरूले विस्तृत छलफल गरे।
कार्यक्रममा उत्कृष्ट शेयर सदस्य, विद्यार्थी, असल ग्राहक र ऋणीहरूलाई सम्मान गरिएको थियो। साथै, सहकारीको निरन्तर सहयोगीको रूपमा पत्रकार केशव पन्थी, पत्रकार लक्ष्मी खनाल लगायत लाई पनि सम्मान गरिएको थियो ।
उपाध्यक्ष टोपलाल खनालले स्वागत मन्तव्य दिए र कार्यक्रम सञ्चालन सचिव नारायणप्रसाद भुसालले गरे। सभामा सहकारी सचेतनामूलक कविता र सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो।

