नेपाल राज्य संवाददाता ।
अर्घाखाँची– स्कुल पढ्ने १० देखि १४ वर्ष उमेर समुहका विद्यार्थीलाई स्वास्थ्य कार्यालय अर्घाखाँचीले गाउँगाउँमा खोप लगाएको छ । कक्षा ६ देखि १० कक्षासम्मका ७ हजार ५ सय ४७ जना विद्यार्थीलाई पाठेघरको मुखको क्यान्सर रोकथामको लागि किशोरीलाई खोप दिइएको स्वास्थ्य कार्यालय प्रमुख शिव नेपालीले बताउनुभयो ।
सन्धिखर्क नगरपालिकाभित्र १८ सय ५, भुमिकास्थान नगरपालिकामा १२ सय २४, शितगंगा नगरपालिकामा १४ सय ७५, पाणिनि गाउँपालिकामा ९ सय ६०, मालारानी गाउँपालिकामा १२ सय ४३ र छत्रदेव गाउँपालिकामा ८ सय २१ जनालाई खोप दिइएको छ ।
एचभीपी खोप विश्व स्वास्थ्य संगठनबाट प्रमाणित गुणस्तरयुक्त खोप हो । (माघ २२) देखि फागुन ६ गतेसम्म खाेप सञ्चालन भएको थियोे ।
चिकित्सकका अनुसार नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको क्यान्सर एक हो । पाठेघर मुखको क्यान्सर हुने मुख्य भूमिका ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को कारण हुन्छ । नेपालमा प्रत्येक दिन करिब ६ जना महिलाको पाठेघर मुखको क्यान्सरको कारण मृत्यु हुन्छ ।
एचपीभी विरुद्धको खोपले पाठेघर मुखको क्यान्सर, गुद्वारको क्यान्सर, घाँटी र जनेन्द्रियहरूको क्यान्सरबाट पनि बचाउँछ । चिकित्सकका अनुसार एचपीभी विरुद्ध खोप यौन सम्पर्क अगाडि लगाउन सके जीवनभर ९० प्रतिशत सुरक्षित राख्छ ।
एचपीभीबाट क्यान्सर भएकाहरूमा सुरुको अवस्थामा कुनै पनि लक्षण नदेखिन सक्ने भएका कारण खोप र नियमित स्क्रिनिङ गराउनु आवश्यक पर्ने चिकित्सक बताउँछन् ।