काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा लोकतन्त्रको मूल सार संवादमा रहेको बताएका छन्। उनले भने, “लोकतन्त्र विवाद र द्वन्द्वमा होइन, संवाद र सहकार्यमा बलियो हुन्छ।”
प्रतिनिधिसभा र राष्ट्रियसभाका सभामुख–उपसभामुखहरू, साथै प्रदेशसभाका सभामुख–उपसभामुखहरूसँगको भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक अभ्यासलाई जनजीवनसँग जोड्नुपर्नेमा जोड दिए। उनका अनुसार जनताको आवाज सुन्ने र त्यसलाई नीति–निर्णयमा उतार्न सक्ने संस्कार जति मजबुत हुन्छ, लोकतन्त्र र संसदीय प्रणाली पनि उति सुदृढ बन्छ।
युवा पुस्तामा सुशासन र विकासप्रतिको चासो बढ्दै गएको उल्लेख गर्दै उनले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन सबैले साझा जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताए।
उनले संसदीय प्रणालीको बल कुनै एक दल वा नेतृत्वमा नभई सबै राजनीतिक शक्ति र नागरिकको सामूहिक प्रयासमा निर्भर रहने बताए। “संसद् र सरकार जनताको आवाज सुन्ने र त्यसलाई कार्यान्वयन गर्न सक्ने संरचना हुन्,” उनले जोड दिए।
राष्ट्रपति पौडेलका अनुसार नेपालको संविधान केवल कानुनी दस्तावेज होइन, देशको साझा सहमति र संकल्पको प्रतीक हो। उनले असन्तुष्ट आवाजलाई बेवास्ता नगरी सुनेर समाधान खोज्ने नीति अवलम्बन गर्न सबैलाई आग्रह गरे।

