काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले अधिकृत र सहायकस्तर गरी एक हजार ३३ जनाका लागि रोजगारी खुलाएको छ । प्राधिकरणले शुक्रबार विभिन्न समूहका तह ७ देखि १० सम्मका अधिकृतस्तरमा १९५ जना र विभिन्न समूहका ५ तह सहायकस्तरमा ८३८ जनाका लागि आवेदन माग गरेको हो ।
दरखास्त दिने अन्तिम दिन आगामी पुस २५ गते रहेको छ । दोब्बर दस्तुर तिरेर माघ ३ गतेसम्म आवेदन दिन सकिने छ। अधिकृतस्तर तह ८ वा त्यसभन्दा माथिल्लो पदका लागि दरखास्त दिने अन्तिम मितिसम्म्मा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । तह ७ को पदमा आवेदन दिन चाहनेको उमेर २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिला र अपांगता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
यस्तै, सहायकस्तर तह ५ मा १८ वर्ष पूरा भई ३५ ननाघेको हुनुपर्नेछ । महिला र अपांगता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । प्राधिकरणमा कार्यरत स्थायी कर्मचारीलाई भने उमेरको हद लाग्ने छैन । अधिकृतस्तरमा सबैभन्दा बढी अर्थात ६२ जना ७ तहको इलेक्ट्रिकल इन्जिनियरमा माग गरिएको छ । इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तह उत्तीर्णले दरखास्त दिन सक्ने जनाइएको छ । प्रशासनतर्फ ७ तहको प्रशासकीय अधिकृतमा ३८ जना माग गरिएको छ ।
कुन–कुन पदमा खुल्यो आवेदन ?
७ तहको लेखा अधिकृतमा ३१ जना माग गरिएको छ । प्राविधिकतर्फ ७ तहको कम्प्युटर इन्जिनियर २१ जना माग गरिएको छ । सिभिल इन्जिनियर ९ जना माग गरिएको छ भने ८ जना सहायक प्रबन्धक इलेक्ट्रिकल माग गरिएको छ ।यस्तै, प्रशासनतर्फ ८ जना चार्टर्ड एकाउन्टेन्ट माग गरिएको छ । प्राविधिकतर्फ तह १० प्रबन्धक इलेक्ट्रिकल समूह, प्रशासनतर्फ तह ८ सहायक निर्देशक, लेखातर्फ ८ तह सहायक निर्देशक १–१ जना माग गरिएको छ ।
प्राविधिकतर्फ तह ७ सर्भे इन्जिनियर, तह ७ वातावरणविद् र तह ७ जियालोजिस्ट २–२ जना माग गरिएको छ ।मिटररिडिङ सुपरभाइजरमा ४१ जना माग गरिएको छ । कोशी प्रदेशमा १२, मधेशमा १६, गण्डकीमा ५, कर्णालीमा ३ र सुदूपश्चिममा ५ जना माग गरिएको छ । यस्तै ३९ जना लेखापालको लागि आवेदन खुलेको छ । कोशीमा ७, मधेशमा १३, लुम्बिनीमा ८ र सुदूरपश्चिममा ६ जना लेखापाल माग गरिएको छ ।
इलेक्ट्रिकल सुपरभाइजरतर्फ ७४० जना माग गरिएको छ। कोशी प्रदेशमा १४०, मधेशमा ९५, बागमतीमा १२०, गण्डकीमा ८४, लुम्बिनीमा १४०, कर्णालीमा ७० र सुदूरपश्चिममा ९१ जना माग गरिएको हो। यस्तै, मेकानिलकल सुपरभाइजरमा १९ जनाको लागि आवेदन खुलेको छ। यससँगै सिभिल सुपरभाइजर ३ जना माग गरिएको छ। सिभिलतर्फ सुदूरपश्चिम प्रदेशमा २ र सर्भेतर्फ बागमती प्रदेशमा १ जना माग गरिएको हो।