काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई असंवैधानिक भन्दै संसद पुनःस्थापनाको माग दोहोर्याएका छन्।
शुक्रबार राजधानीमा आयोजित एमाले शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उनले अहिलेको सरकार आन्दोलन र अराजकताको बलमा बनेको दाबी गरे।
देश नछाडी अडानमा रहने दृढता जनाउँदै अध्यक्ष ओलीले भने “मर्नैपरे यहीँ मर्छु, देश सुम्पिएर भाग्दिनँ।” उनले अहिलेको सरकारले विपक्षी नेताहरूलाई पासपोर्ट रोक्का गरेर दबाब दिने काम गरिरहेको आरोप पनि लगाए।
“संविधानको बाटोमा फर्किन संसद पुनःस्थापना अब अपरिहार्य छ। संविधान तोड्ने, आगजनी गर्नेहरूकै हातमा देश सुम्पिएको छ।”
उनका अनुसार एमालेले बेठिक शक्तिसँग कहिल्यै सम्झौता गर्ने छैन। “दुई दिनको सडक नाटकबाट बनेको यो सरकारसँग एमाले झुक्दैन,” उनले भने। प्राचीन दार्शनिक सुकरातको उदाहरण दिंदै ओलीले भने, “सुकरातले भागेर ज्यान जोगाएनन्, म पनि भाग्दिनँ।”
उनले अहिलेको सत्ता व्यवस्थालाई ‘आकाशबेली सरकार’ भन्दै व्यङ्ग्य गरे र संविधान र लोकतन्त्रको रक्षा गर्न एमाले अन्तिमसम्म लड्ने चेतावनी समेत दिए।

