माओवादी बैठकमा प्रश्न : प्रचण्डको ६४ लाखको घडी र गंगाको २८ लाखको ब्यागको स्रोत के हो ?
काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी छोरी गंगा दाहालको जीवनशैलीमाथि गम्भीर प्रश्न उठेको छ।
बैठकमा केन्द्रीय सदस्य लक्ष्मण पन्तले प्रचण्डले प्रयोग गर्ने महँगो रोलेक्स घडी (करिब ६४ लाख मूल्य) र गंगाको लुइ भिटन ब्याग (करिब २८ लाख मूल्य) को स्रोतबारे प्रष्टिकरण माग गरे।
पन्तले पार्टीमै भ्रष्टाचारविरुद्ध संघर्ष सुरु गर्नुपर्ने बताउँदै, यदि यी वस्तु उपहारका रूपमा आएको भए पनि पार्टी कोषमा जम्मा गर्नुपर्ने धारणा राखे। उनले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले उपहार बेचेर व्यक्तिगत फाइदा उठाएको उदाहरण दिँदै त्यसबाट सावधान रहन आग्रह गरे।
त्यसैगरी उनले प्रचण्ड निकट भनिएका व्यवसायी अजय सुमार्गीको ‘हेलो नेपाल’ बाट भएको घाटा, माओवादी लडाकुको २ अर्ब ८२ करोडको हिसाब, र निरन्तर सरकारमा रहेका नेताहरूको सम्पत्तिसमेत छानबिन गर्न माग गरे।
पन्तले यो विषयलाई पहिलो चरणमा कांग्रेस नेता सुनील शर्माले उठाएको स्मरण गर्दै, यदि आरोप झुटा भए शर्माविरुद्ध मुद्दा चलाउन पनि सुझाव दिए।