काठमाडौं – लोकप्रिय गायक मोतिराज खनालले बक्स अफिस म्युजिक अवार्ड २०८२ मा सर्वोत्कृष्ट भजन गायक तथा सर्जकको अवार्ड प्राप्त गरेका छन्। नेपाल सरकारद्वारा मान्यता प्राप्त र लामो समयदेखि प्रतिष्ठित मानिँदै आएको बक्स अफिस अवार्डमा यसपटक कुनै भोटिङ प्रक्रिया नराखी, उत्कृष्ट सिर्जना र गायनको आधारमा निर्णायक मण्डलले विजेता घोषणा गरेको हो।
खनालले यस वर्ष गाएको ‘सुपा देउराली भजन’ अत्यधिक चर्चामा आएपछि उनलाई यो सम्मान प्राप्त भएको हो। भजन सार्वजनिक भएको केही दिनमै युट्युब, टिकटक र फेसबुक रिल्समा लाखौं दर्शकले सुनेका थिए। भजन लोकप्रिय भएपछि सुपा देउरालीमा पर्यटकको संख्यामा पनि उल्लेख्य वृद्धि भएको स्थानीयले बताएका छन्। यस भजनलाई धार्मिक तथा पर्यटन दुवै दृष्टिले अर्घाखाँचीको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
सुपा देउराली भजनबाट निर्देशक सुरज खनाल पनि अवार्ड जित्न सफल भएका छन्। अवार्ड पाउँदै गायक खनालले आफ्नो टिमका सदस्य, सहयोगी, माला श्री रेकर्डिङ स्टुडियो र मिडियाप्रति आभार व्यक्त गरे। उनले दर्शक–श्रोता, गुरुजन, परिवार र शुभेच्छुककै मायाले आफू यो स्तरमा पुगेको उल्लेख गरे।
कार्यक्रममा निर्णायक मण्डलमा रहेका वरिष्ठ व्यक्तित्वहरुको मूल्याङ्कनमा अवार्ड वितरण गरिएको थियो। सो अवसरमा बक्स अफिस इभेन्टका अध्यक्ष आर.के. सुवेदीले कार्यक्रमको अध्यक्षता गरेका थिए। सुवेदी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा ६ पटक नाम लेखाइसकेका व्यक्तित्व हुन्।
त्यसै अवसरमा सम्पन्न १९औँ बिस्वकृतिमानी रामबहादुर (आरके) गोल्डकप २०८२ मा सनराइज अजय एफसीले उपाधि जित्यो भने भैरव फुटसल भक्तपुर उपविजेता बन्यो। निकेश एफसी इटहरीले फेयर प्ले ट्रफी हात पार्दा राष्ट्रिय महिला खेलाडी रेखा पौडेललाई विशेष प्रोत्साहन सम्मान प्रदान गरिएको थियो।
कार्यक्रममा तीज म्युजिक अवार्डका उत्कृष्ट पाँच मनोनयन पनि सार्वजनिक गरिएका थिए। समापनमा अध्यक्ष सुवेदीले सबै अवार्ड विजेता कलाकार र सहभागी टिमलाई धन्यवाद दिँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे।