चितवन -‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर कुसे औँसीका दिन बाबुको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । यस दिन बाबुलाई मीठो खाना खुवाउने, राम्रो लुगाफाटा दिने र आदर गर्ने परम्परा रहेको छ । बाबु गुमाएकाहरू भने धार्मिक तीर्थस्थलमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने चलन छ ।
तर पवित्र तीर्थस्थल देवघाट धामका वृद्धाश्रममा बस्ने ‘बा’हरू भने दाता पर्खेर बसिरहेका छन् । परिवारबाट विमुख वा असहाय भएर आश्रममा पुगेका वृद्धवृद्धा हरेक वर्ष आमा खुवाउने दिन (माता तीर्थ औँसी) र बाबुको मुख हेर्ने दिनमा कसैले सम्झेला कि भन्ने आशामा बस्ने गरेका छन् ।
देवघाट गाउँपालिका-५ स्थित देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा बस्ने वृद्धहरूको अवस्था अझ दयनीय छ । नुवाकोटका ७५ वर्षीय कृष्णप्रसाद भट्ट दुई छोराले समेत सम्पर्क नगर्दा “आफन्त भन्ने रहेनछन्” भन्ने पीडामा छन् । श्रीमतीको निधनपछि छोराहरूलाई खुट्टामा उभ्याइदिएका उनी अहिले ८ वर्षदेखि आश्रममै छन् । “अहिले जो आएर बा भन्छ, मिठो खान दिन्छ, त्यही नै छोराछोरी हुन्,” उनले आँखा रसाउँदै सुनाए ।
भरतपुर–६ का ८६ वर्षीय शमशेरबहादुर विश्वकर्माको पनि कथा पीडादायी छ । दुई पटक विवाह गरे पनि सन्तान नबचेपछि श्रीमती पनि छाडेर गइन् । “आफ्ना त छैनन्, जो आउँछन् तिनै छोराछोरी हुन्,” उनी भन्छन्, “बाबुको मुख हेर्ने दिन जो दिन्छ, त्यही सन्तान हो ।”
यस्तै, बागलुङका ७७ वर्षीय मणिरत्न पौडेल अविवाहित छन् । उनका भाइ-बहिनी भए पनि आफूलाई विवाह गर्ने इच्छा नभएको तर बुढेसकालमा परिवारको कमी महसुस हुने गरेको उनले सुनाए । “जसले बा भन्छ, सबै आफ्नै सन्तान हुन्,” पौडेलले भावुक हुँदै भने ।
देवघाट क्षेत्र विकास समितिअन्तर्गतका विभिन्न आश्रममा अहिले ८० जना वृद्धवृद्धा बस्छन् । तीमध्ये देवघाट समाज कल्याण केन्द्रमा मात्रै ३५ जना (१७ जना पुरुष, १८ जना महिला) आश्रित छन् ।
समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार दाताको भरमा उनीहरूको दैनिकी चल्छ । “पहिले समाज कल्याण परिषद्बाट केही बजेट आउँथ्यो, अहिले त्यस्तो छैन । भवन मर्मतदेखि दैनिक खर्चसम्म दाताको सहयोगमा निर्भर छौँ,” उनले भने ।
समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारीले असहाय वृद्धवृद्धाको बसोबास, उपचार र खानपानीको व्यवस्था गर्न दाताको ठूलो सहयोग रहेको बताए । “समस्याका बीच पनि वृद्धवृद्धालाई परिवारझैँ सेवा दिएका छौँ, निरन्तरता दिनुपर्छ,” उनले बताए ।
यसैबीच, प्रेस चौतारी नेपाल चितवन शाखाले शुक्रबार साँझ आश्रममा दरखाने कार्यक्रम गरी वृद्धवृद्धालाई भोजन गराएको छ । अध्यक्ष सुवास पण्डितका अनुसार शाखाले हरेक वर्ष यो कार्यक्रम निरन्तर गर्दै आएको छ ।रासस