मालारानीका १८ विपन्न परिवारलाई एक वर्ष निःशुल्क स्वास्थ्य बीमा
अर्घाखाँची । मालारानी गाउँपालिका अन्तर्गत आर्थिक रूपमा विपन्न र उपचारबाट वञ्चित नागरिकहरूका लागि डा. खगेन्द्र आचार्यले निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेका छन् ।
मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगी भण्डारमा जन्मिएका हाल सन्धिखर्कस्थित ओम पोलिक्लिनिकमा कार्यरत MDGP डा. खगेन्द्र आचार्यले आफ्नो व्यक्तिगत खर्चमा गाउँपालिकाका वडा नम्बर १ देखि ९ सम्मका प्रत्येक वडाबाट दुई–दुई परिवार गरी जम्मा १८ घरपरिवारलाई एक वर्षका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेका हुन् ।
डा. आचार्यले सामाजिक उत्तरदायित्वको भावनासहित विपन्न नागरिकहरूको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले मालारानी गाउँपालिकालाई पत्रमार्फत नाम र ठेगाना उपलब्ध गराइदिन अनुरोध गरेका थिए । सोही अनुरोध अनुसार वडागत सिफारिस भई आएका अति विपन्न नागरिकहरूको विवरण प्राप्त भएपछि निःशुल्क स्वास्थ्य बीमाको प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ।
निःशुल्क स्वास्थ्य बीमा पाउने लाभग्राहीहरूमा राम बहादुर विश्वकर्मा, खिम बहादुर कामी, सुनिता जि.सी., कुमारी नेपाली, पुष्पा सुनार, कृष्ण प्रसाद चुदाली, जिते कामी, लक्ष्मी वि.क., मिनादेवी कार्की थापा, टाम बहादुर महत, पूर्ण बहादुर पुन, बाल बहादुर कामी, निमी भुसाल, खुम बहादुर बस्नेत, जेदुलाल दर्जी, गुन बहादुर पुन, मधु सुवेदी र पविराम पुन रहेका छन्।
डा. आचार्यको यो कार्य अर्घाखाँचीबासीको मन–मुटुमा बस्न सफल भएको छ र समाजमा सकारात्मक सन्देश प्रवाह समेत गरेको हो।व्यक्तिगत पहलबाट गरिएको यस्तो सामाजिक योगदानले अन्य चिकित्सक, व्यवसायी तथा सक्षम व्यक्तिहरूलाई पनि सामाजिक सेवामा जोडिन प्रेरणा दिएको छ।

