काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङले देशको सीमा रक्षा गर्ने प्रमुख जिम्मेवारी पाएको नेपाली सेनालाई सीमा क्षेत्रको अवलोकनमा समेत नपठाइनुको कारण माग गरेका छन्।
शुक्रबार संसदमा बोल्दै उनले सरकारले सीमामा सेना पठाउन नमिल्ने गरी कतै गोप्य सम्झौता त गरेको छैन भन्दै प्रश्न उठाए। ‘हाम्रो नेपाली सेना सीमामा जानै नहुने त्यस्तो के कसम खाएर बसेको रहेछ? नेपाल सरकारले सीमामा अवलोकन गर्न पनि पठाउन नमिल्ने खालको के कस्तो करार गरेको छ, त्यो करारपत्र वा सन्धि संसद्मा देखाइयोस्।’ उनले भने।
उनले खुल्ला सीमाका कारण नेपालको भूमि ५०औँ, १००औँ वर्षदेखि मिचिँदै आएको भन्दै सीमामा सुरक्षा फौज तैनाथ नगरेसम्म यो समस्या हल नहुने दाबी गरेका छन्। उनले भूगोल र माटो बिनाको देश सम्भव नहुने भएकाले सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने तर्क गरेका छन्।
सो अवसरमा साम्पाङले सुस्ता क्षेत्रमा भारतीय सुरक्षा बल (एसएसबी) बाट नेपाली नागरिक हेपिँदा समेत सरकार मूकदर्शक बनेको भन्दै आक्रोश पोखेका छन्।

