काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग पार्टी एकताको सबै ढोका बन्द भइसकेको बताएका छन्।
शुक्रबार आयोजित एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीचको एकता घोषणासभामा बोल्दै अध्यक्ष नेपालले एमालेसँगको पुनर्मिलनको सम्भावना समाप्त भएको दोहोऱ्याए।
उनले तीव्र शब्दमा भने,
“एमालेभित्रको चरित्र हामीले देखिसकेका छौं। उनीहरूको उद्देश्य नै हाम्रो पार्टीलाई समाप्त पार्ने हो भन्ने कुरा उनीहरूकै बोली र व्यवहारबाट स्पष्ट छ। त्यसैले अब भ्रममा नपर्नुहोस्।”
अध्यक्ष नेपालले कसैले व्यक्तिगत रूपमा आशा राखेको भए त्यो उनको व्यक्तिगत कुरा भएको तर संस्थागत रूपमा एमालेसँग कुनै पनि सहकार्य सम्भव नभएको प्रस्ट पारे।
“उनीहरूले कुन–कुन विधि अपनाउने, कहाँ–कहाँ प्रहार गर्ने भन्ने योजना बनाइरहेका छन्। त्यो सबै हामी बुझिसक्यौं,” उनले भने।
यसै क्रममा उनले एकता राष्ट्रिय अभियानसँगको समायोजनले पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
“हाम्रो यो एकता यात्रा कसैले रोक्न सक्दैन। जनताको विश्वास जित्दै हामी अझ सशक्त बन्छौं,” अध्यक्ष नेपालले बताए।

