अर्घाखाँची- अर्घाखाँचीका घनश्याम भट्टराई सात वर्षदेखि बेपत्ता भएका छन् ।
अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–६ ठुलापोखराका घनश्याम भट्टराई २०७५ साल भदौ ५ गते भारतको दिल्ली जान्छु भनी घरबाट निस्किएका थिए। त्यस दिनको बिहानसम्म सबै कुरा सामान्य थियो। तर, त्यो दिनको यात्रा जीवनकै अन्तिम भेटजस्तो बन्न पुग्यो। दिल्ली पुगे कि बीचमै के भयो, आजसम्म अज्ञात छ।
सात वर्ष नजिकिँदै गर्दा पनि घनश्यामको कुनै खबर छैन। परिवारले सुरुवाती दिनदेखिनै खोजी र जानकारीका लागि आफन्त साथीभाइ र सम्बन्धित निकायसँग सम्पर्क राख्दै आएको छ। तर न भारततर्फबाट न नेपालमै कतैबाट पनि कुनै प्रमाण वा ठोस सूचना आएको छैन। परिवारले खोजी कार्यमा सहयोग गर्न आग्रह गरेको हो ।
छिमेकी तथा समाजसेवी शिवदेव पाण्डेका अनुसार घनश्यामको अनुपस्थितिले उनका आमा श्रीमती छोरी दाजु भाउजूको जीवन् अन्धकारमय भएको छ। बाटो कुरिरहेका छन् । “उहाँ फर्किनुहुन्छ कि फर्किनुहुन्न, थाहा छैन। तर कम्तीमा उहाँको अवस्था र ठेगाना थाहा पाउने आशा अझै मरेको छैन” उनले भने ।
यो पीडादायी अवस्थालाई सार्वजनिक गर्दै समाजसेवी पाण्डेले पनि सबै नेपाली समुदायलाई सहयोगको अपील गरेका छन्। “देश विदेश जहाँ भए पनि, जो कोहीसँग घनश्याम भट्टराईको सम्बन्धमा कुनै पनि प्रकारको सूचना छ भने तुरुन्त सम्पर्क गर्नुस्। एक फोन वा सन्देशले परिवारलाई आशाको किरण दिलाउन सक्छ,” पाण्डेले भावुक हुँदै भने।
घनश्यामको खोजीका लागि आवश्यक सबै प्रकारको सहयोग र जानकारी दिनका लागि मोबाइल नम्बर ९८४१८६७३३० मा सम्पर्क गर्न अनुरोध गरिएको छ।