बुटवल ।
लुम्बिनीमा गाई तस्करहरूलाई रोक्न खोज्दा सामूहिक आक्रमण, एक जना गम्भीर घाइते
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ७ भगतपुरवा र भैसहिया बीचको क्षेत्रमा गाईगोरु तस्करी भइरहेका बेला त्यसलाई रोक्न खोज्ने व्यक्तिमाथि सामूहिक आक्रमण भएको छ।
तस्करी रोक्न प्रयास गर्ने क्रममा लु. साँ. न. पा. वडा नम्बर ११ गनवरियाका हरिचन्द यादवका छोरा राम सुभग यादव (उर्फ लेखनदार यादव) गम्भीर घाइते भएका छन्।
घटना हिजो राति करिब १०:०० बजेको हो। यादवले केही व्यक्तिहरूले गाईगोरु तथा छाडा चौपायाको खुट्टा बाँधेर लैजाँदै गरेको देखेपछि उनीहरूलाई रोक्न खोजे। सोधपुछ गर्ने प्रयासमै यादवमाथि तस्कर समूहले सामूहिक रूपमा आक्रमण गरेको स्थानीयले बताएका छन्।
प्राप्त जानकारीअनुसार यादवमाथि रडले प्रहार गरिएको थियो, जसले गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको छ। हाल उनलाई भैरहवा स्थित सिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको छ, र अवस्था गम्भीर रहेको बताइएको छ।
घटनापछि आक्रमणकारीहरू फरार रहेका छन् भने स्थानीय प्रहरी प्रशासनले घटनाको अनुसन्धान तथा आक्रमणकारीको खोजी कार्य तीव्र पारेको जनाएको छ।

