रुद्रमणि भुसाल, अर्घाखाँची । कर्तव्य ज्यान मुद्दामा सजाय पाएपछि फरार भएका एक अभियुक्तलाई इप्रका ठाडाको टोलिले २२ वर्षपछि पक्राउ गरेको छ।
जिल्ला अर्घाखाँचीको साविक सिमलपानी गाविस–९ निवासी वर्ष ३२ का लुमबहादुर सुनारले आफ्नी श्रीमती वर्ष २५ की मीना सुनारलाई कुटपिट गरी हत्या गरेको घटनामा जिल्ला अदालत अर्घाखाँचीबाट कैद सजाय तोकिएको थियो।
सजाय भुक्तानका क्रममा कारागार कार्यालय कपिलवस्तुमा रहेका सुनार माओवादी आक्रमणपछि फरार भएका थिए। फरार भएपछि उनी भारतमा लुकीछिपी बस्दै आएका थिए।
हालै उनी घरमा आएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक दिपक सिँह विष्टको नेत्तृत्वमा गएको प्रहरी टोलीले भेडामारा क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार सुनारले अझै ८ वर्ष ७ महिना ८ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको छ। पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद भुक्तानका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।

