धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बजेट निर्माणमा एकलौटी गरेको भन्दै नेकपा एमालेले विरोध जनाएको छ ।
अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याइएको बजेटमाथि छलफल गर्न सोमबार बसेको नगरसभा बैठकमा मेयर हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले एकलौटी गरेको र आफूहरुलाई बाइपास गरेको भन्दै एमालेको विरोध जनाएको हो ।
नगरसभा बैठकमा बोल्दै एमालेबाट निर्वाचित उपमेयर कन्दकला रानाले योजना तर्जुमादेखि कार्यालयका अन्य कामकाजमा मेयर हमालले कुनै समन्वय नगरेको गरेको आरोप लगाइन् ।
‘धनगढी उपमहानगरपालिका कसैको प्राइभेट कम्पनी होइन । मेयर साबले एकलौटी गर्नुभएको छ । योजना तर्जुमा हामीलाई वाइपास गरिएको छ’, रानाले भनिन्, ‘उहाँले गरेका हरेक राम्रा काममा हाम्रो साथ रहन्छ तर एकलौटी गर्न थालेकाले हामी यो नगरसभा चलाउन सक्दैनौं ।
रानाले सरसल्लाह, छलफल र समन्वयका आधारमा मात्र धनगढीको विकास सम्भव भएको उल्लेख गरिन् । योजना तर्जुमा समितिको संयोजक उपमेयर भएपनि योजना बनाउँदा सल्लाह नगरेको दाबी उनको छ ।
उपमेयर रानाले मेयर हमालले धनगढीबाट बाहिर जाँदा समेत आफूलाई कुनै जानकारी नदिएको भन्दै कानुनी व्यवस्थाको बेवास्ता नगर्न आग्रह गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ आफ्नो कार्यकक्षमा प्रवेश गर्न समेत हिच्किचाउने भन्दै उनले कर्मचारीले समेत आफ्नो अपमान गरेको बताइन् । निजी सचिवालयमा कर्मचारी व्यवस्थापन नगरिदिएको गुनासो समेत उपमेयर रानाको थियो ।
रानाले उठाएका प्रश्नको जवाफ दिदै मेयर हमालले योजना शाखाका विज्ञहरुले बजेट र योजना निर्माण गरेको बताउँदै आफ्नो संलग्नता र कुनै स्वार्थ नरहेको बताएका छन् ।
‘योजना शाखाका विज्ञहरुले योजना बनाएका हुन् । म पनि योजना बनाउनमा संलग्न छैन । ती योजनामा मेरो कुनै स्वार्थ झल्किनुपर्यो नी,’ हमालले भने, ‘एक अर्ब ९३ करोडको बजेट सिलिङमा १० करोड काट्दा धेरै योजना काटिएका छन् । त्यो पनि सम्बन्धित शाखाहरुलाई सोधेरै राखिएको हो ।’
उनले आफ्नो काम उपमेयरलाई रिपोर्टिङ गर्ने नभएको बताउँदै व्यक्तिगत काम परेर बाहिर गएको बताए । तर उपमेयरको सचिवालयमा कर्मचारी नराखिएको विषयमा आफूलाई कुनै जानकारी नभएको मेयर हमालले बताए ।
हमालको जवाफ चित्तबुझ्दो नभएको भन्दै एमाले जनप्रतिनिधिहरुले नगरसभा बैठकमा प्रश्न उठाइरहेका छन् ।