अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले सन्धिखर्क साना शहरी खानेपानी उपभोक्ता मूल संस्थाको हालै सम्पन्न निर्वाचनबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। सामाजिक संजालमार्फत प्रतिक्रिया दिँदै उनले विभिन्न अनपेक्षित परिणामका कारणहरू सूक्ष्म रूपमा गठबन्धन भित्रकै कमजोरी र एमाले अन्तर्विरोधबाट आएको दाबी गरेका हुन।
उनका अनुसार एमाले र कांग्रेस दुवै दलभित्रको आन्तरिक संघर्ष खुलेर चुनावमा देखियो, जसलाई उनले “अत्यन्त घातक” प्रवृत्ति भने। कांग्रेसभित्र करीब ८५ प्रतिशत नेता तथा मतदाता गठबन्धनविरुद्ध खुला रूपमा उभिएको आरोप समेत लगाए। एमालेभित्र पनि असन्तुष्ट समूहले योजना असफल पार्ने उद्देश्यसहित भित्री रूपमा सक्रिय रहेको अध्यक्ष भुसालको दाबी थियो ।
सन्धिखर्कका घटनाहरू र चुनावी वातावरणलाई उनले अस्थिर र चुनौतीपूर्ण बताए। भदौ २३–२४ का आगजनी तथा तोडफोड घटनामा संलग्न समूहहरू हौसिएको र त्यसकै वातावरणमा चुनाव गर्नुपर्ने बाध्यता सिर्जना भएको उनको विश्लेषण छ।
नेकपा एमाले जिल्ला अध्यक्ष भुसालले पार्टीभित्र रहेर योजना विफल पार्न खोज्नेहरूलाई समयमा नै पार्टी छाड्न चेतावनी दिएका छन् । पूर्वका माओवादी, एकीकृत समाजवादी र मसालको भोट सौदाबाजी अवसरवादी र दोहोरो चरित्रले चुनाव बिगारेको आरोप लगाए ।
दलको साझा उमेदवारको पक्षमा दृढ भएर उभिने स्थानीय नेता तथा कार्यकर्ताप्रति उनले धन्यवाद दिएका छन्। हार बेहोर्नु परेका पदाधिकारीहरूलाई धैर्य राखेर जनसेवामा निरन्तर लागिरहन समेत उनले प्रेरित गरेका छन्।
उनले विजयी भएका उम्मेदवारहरूलाई बधाई दिँदै दलीय सहमतिमा संस्थालाई अघि बढाउन सन्धिखर्कका उपभोक्ताले दिएको १२ मध्ये ९ प्रतिनिधिको मत जनादेशलाई सकारात्मक संकेतका रूपमा व्याख्या गरेका छन्।

