काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने पर्वले पारिवारिक स्नेह, प्रेम र आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउने बताएकी छन्।
शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले जनैपूर्णिमा आत्मिक शुद्धि, संयम, दान र आत्मबलको प्रतीक भएको उल्लेख गरिन्। रक्षाबन्धनले पारिवारिक आत्मीयता बढाउने र क्वाँटी खाने परम्पराले मौलिक ज्ञान, खानपान संस्कृतिको संरक्षणसहित जैविक विविधता र स्वास्थ्यप्रतिको सचेतना बढाउने उनको भनाइ छ।
भण्डारीले यस्ता पर्वहरूले सामाजिक एकता, आपसी सद्भाव र राष्ट्रिय पहिचान सुदृढ पार्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीमा शान्ति, सुस्वास्थ्य, समृद्धि र दीर्घायुको कामना गरेकी छन्।
उनले सामाजिक सञ्जालमा लेखिकिछन :
“हाम्रो सभ्यता, संस्कृति र आस्थाको प्रतीकका रूपमा मनाइने जनै पूर्णिमा, रक्षा बन्धन तथा क्वाँटी खाने पर्वका पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
आत्मिक शुद्धि, संयम, दान र आत्मबलको प्रतिक जनै पूर्णिमा पर्वले सबैमा धर्म, संस्कार र कर्तव्यबोधको भावना जागृत गराउनुका साथै रक्षाबन्धनले पारिवारिक स्नेह, प्रेम र आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउदछ । यसै दिन नौ प्रकारका अन्नबाट तयार गरिने परम्परागत परिकार क्वाँटी खाने चलनले हाम्रो मौलिक ज्ञान, खानपान संस्कृतिको संरक्षणसँगै जैविक विविधता र स्वास्थ्यप्रतिको सचेतनालाई समेत उजागर गर्दछ ।
यस्ता पर्वहरूले सामाजिक एकता, आपसी सद्भाव र राष्ट्रिय पहिचानको सुदृढीकरणमा योगदान पुर्याउने विश्वासका साथ पुन: सबैमा शान्ति, सुस्वास्थ्य, समृद्धि र दीर्घायुको कामना गर्दछु ।”

