अर्घाखाँची । आज साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाइदै छ । २०७७ सालदेखि नेपालमा हरेक वर्ष साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवस (national finger millet day ) को रूपमा मनाउने गरिन्छ।यस हिसाबले अहिले यो २०८२ साल साउन १६ गतेआजको दिनमा मनाइने दिवस छैठौं राष्ट्रिय कोदो दिवस हो ।
यस छैठौं राष्ट्रिय कोदो दिवसको नारा `कोदो जन्य परिकारको आहार: खाद्य सुरक्षा र स्वास्थ्य जीवनको आधार´रहेको छ। कृषि तथा पशुपंक्षी मन्त्रालय र खाद्य प्रविधि विभागको प्रस्तावमा नेपाल सरकारले यो दिवस मनाउने निर्णय गरेको हो । यो सरकारको सकारात्मक पक्ष हो ।यो दिवसले कोदो अन्नको महत्त्व , संरक्षण र प्रवर्धनको सन्देश दिन्छ ।
यो खाद्यान्नको नाम`कोदो´नेपालको स्थानीय नाम हो। यसको अन्तर्राष्ट्रिय नाम फिङ्गर मिल्लेट (finger millet) हो। Eleusine coracana यसको वैज्ञानिक नाम हो। यो बाली घाँस परिवार Poaceae ( grass family ) मा पर्दछ। कोदो वाली वर्षे वाली हो ।
कोदोको उत्पत्ति पूर्वी अफ्रिकामा भएको मानिन्छ। नेपालमा कोदोको खेती प्राचीनकालदेखि परम्परागत रूपमा हुँदै आएको छ। खासगरी मध्यपहाडी क्षेत्रमा यो बाली लगाउने गरिन्छ। नेपालमा यो बाली आर्थिक , सामाजिक , पोषण र मूल्यका हिसाबले महत्वपूर्ण र उपयुक्त अन्न मानिन्छ।
अरु अन्नको दाजोमा कोदोको विशेषता फरक हुन्छ।कोदो बालीको लागि सुक्खा तथा कम पानी भएको क्षेत्र उपयुक्त हुन्छ। यो बालीलाई सिँचाइको आवश्यकता पर्दैन अर्थात बिना सिँचाइ पनि फल लाग्दछ । कोदो वाली लगाएको दिनदेखि ९०-१२० दिनभित्र पाक्दछ र बाली स्याहार गर्न (harvesting गर्न)को लागि तयार हुन्छ । यसको बिउ पाँच वर्षदेखि १० वर्षसम्म टिकाउ हुन्छ। कोदोको भण्डारण गर्न सजिलो हुन्छ। यो बालि लामो समयसम्म बिग्रँदैन र किरो पनि लाग्दैन। त्यही कारणले गर्दा पहाडी भेगमा धनी मान्छेहरुले पहिलेदेखि नै ५-१० वर्ष पुरानो कोदो भण्डारण गरेर राख्ने चलन थियोे । त्यस्ता खाले धनी ब्यक्तिलाई `कोदे साहु´ भनिन्थ्यो ।
अनिकालको समयमा मानिसहरू ती कोदे साहुका घरबाट भण्डारण गरेको पुरानो कोदो चौपाँजे कोदोको रूपमा पैंचो लिएर खाने गर्दथे ।चौपाँजे कोदोको अर्थ हो असार – साउनको अनिकालमा चार पाथी लिएको भए कोदो बाली पाकेपछी मङ्सिरमा एक पाथि ब्याज सित तिर्नु हो । यसरी नै त्यो बेलाका मानिसले अनिकाल को महामारी भुखमरी टार्दथे ।
आजभन्दा ५/६ दशक पहिले सम्म पहाडी भेगमा संचार र यातायातको सुबिधा थिएन । त्यसैले आफ्नो घरमा खाद्यान्नको अभावमा अनिकाल परेको भनिन्थ्यो । अनिकालको बेला मानिसहरु बनतिर फलफूल टिप्न जाने गर्दथे । फलफूल पनि नहुने बेला बनमा रुखका बोक्रा र म्यालका गेडा समेत जम्मा गरी घरमा लिएर कुटेर खाने पनि चलन थियोे ।
तत्कालीन समयमा अन्न वालीलाई सामाजिक र धार्मिक हिसाबले `सुअन्न´ र `कुअन्न´ गरी दुई भागमा वर्गीकरण गरिएको थियोे ।`सुअन्न ´आजा पूजामा चढाउने र कथित माथिल्लो जातिले खाने अन्न हो । `कुअन्न´भनेको आजा पूजामा नचढ्ने र कथित सानो जातिले खाने अन्न मानिन्थ्यो। कोदो कुअन्नमा पर्दथ्यो । यो पहाड तिरको गाउँघरमा मात्र पाइन्थ्यो ।सहरमा कोदो पाईंदैनथ्यो र खाईंदैनथ्यो । तर आजभोलि मानिसहरूले कोदोलाई बैज्ञानिक हिसाबले र स्वास्थ्यको हिसाबले राम्ररी बुझेकाछन् । त्यसैले आजभोलि कोदोलाई “सुपर फुड ´´पनि भनिन्छ। यो कोदो आजभोलि गाउँतिरबाट सहर बजारतिर निकासी हुन्छ । त्यसैले गाउँमा भन्दा सहरमा बढी पाइन्छ ।
कोदोको मात्रा प्रति १०० ग्राममा ३३६ किलो क्यालोरी( kcal), ७.६ ग्राम प्रोटिन , ७२ ग्राम कार्बोहाइड्रेट, ३४४ मिलिग्राम क्याल्सियम , ३.९ मिलिग्राम आइरन तत्वको मात्रा र उच्च मात्रामा फाइबर हुन्छ। ग्लुटेन फ्री भएकाले कोदो एलर्जी भएका व्यक्तिका लागि उपयुक्त हुन्छ।
कोदोको विभिन्न परिकारको खाना जस्तै ढिँडो, रोटी, भात, खिचडी , हलुवा ,खिर आदि परंरागत रूपमा बनाएर खाइन्छ भने आजभोलि आधुनिक प्रबिधिबाट केक,पाउरोटी ,पिजा, बर्जर जस्ता विभिन्न परिकारहरु पनि बनाएर खाने गरिन्छ।यसको बियर वा लोकल रक्सी बनाउन पनि प्रयोग गरिन्छ। कोदो पशु आहारका रूपमा पनि प्रयोग हुन्छ। यसमा औषधि युक्त गुण पनि हुन्छ। जस्तै मधुमेह र उच्च रक्तचाप भएका बिरामीहरूको खानामा कोदोको परिकार सेवन गरेमा उनीहरूको पाचन क्रियामा सहजता आउँछ।
यो राष्ट्रिय कोदो दिवस मनाउनुको उद्देश्य पारस्पारिक अन्नबालीको संरक्षण , पोषणमा योगदान र जलवायु परिवर्तन गर्न सक्ने बालीको प्रवर्द्धन गर्नु र किसानको आम्दानीमा वृद्धि गर्नु हो। लोप भएको स्थानीय बाली कोदोको पुनर्जीवन गर्नु , आयात प्रतिस्थापन गर्नु र पोषण सुरक्षामा योगदान गर्नु पनि यसको उद्देश्य हो। यी विभिन्न उद्देश्य पूरा गर्नको लागि विभिन्न तरिकाले राष्ट्रिय कोदो दिवस मनाउन सकिन्छ। ती तरिकाहरू हुन सक्छन् जस्तै कृषि मेलाहरूको आयोजना, कोदोका परिकारको प्रदर्शन तथा प्रतियोगिता, प्राविधिक गोष्ठीहरू, बिउ वितरण र कृषक सम्मान कार्यक्रम र गाउँ गाउँमा कोदो सम्बन्धी जनचेतना मूलक कार्यक्रम आदि।
कोदो अन्नको भविष्य पनि अत्यन्तै राम्रो छ। किनकि यसको मूल्य श्रृङ्खलाको निरन्तर विकास भइरहेको छ। अर्गानिक उत्पादन मार्फत निर्यातको सम्भावना बढेर गरेको छ। पर्यटन र संस्कृतिसँग जोडिएको उत्पादनको रुपमा यसको प्रवर्धन भइरहेको छ।
अन्त्यमा यो कोदो वाली उत्पादन बढाउन , उपयोग र उपभोगको लागि अध्ययन र अनुसन्धान गरी नयाँ प्रबिधिको विकास र प्रयोगको आवश्यकता बढेर गएको कुरा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै राष्ट्रिय कोदो दिवसको सबैलाई शुभकामना !
लेखक नरेन्द्रबहादुर थापा (मिति:२०८२ श्रावण १६ गते)