रुपन्देही ।
बुटवल उपमहानगरपालिका वडा नं २ फूलबारीचोकमा रहेको कारिकोट होटलमा एक जोडी रहस्मय तरिकाले मृत अवस्थामा भेटिएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार धादिङ्गको कुमपुर(५ ठेगाना भएका अन्दाजी ३५र३६ वर्ष उमेरका सिताराम भुजेल र थर–ठेगाना स्पष्ट नखुलेकी पुष्पा नामले बोलाइले अन्दाजी २५ वर्षीया युवती मृत फेला परेका हुन्।
पुरुषको शव होटलको कोठामा रहेको पंखामा झुण्डिएको अवस्थामा र महिलाको शव बिस्तारमा रगताम्य अवस्थामा भेटिएको थियो । प्रहरीका अनुसार ती महिला डेढ महिनाअघि नेपालगन्ज घरबाट दांग जान्छु भनेर हिंडेपछि हराएको हुनसक्ने अनुमान छ । इप्रका बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले भने–‘ युवती पलङ्गमा उत्तानो परेको अवस्थामा मृत फेला परेकी छन् भने युवक कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
तन्ना र टावेलमा रगत पोतिएको देखिँदा युवतीको हत्या गरी आफूले आत्माहत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ, थप कुरा अनुसन्धानबाट खुल्नेछ ।’ उनीहरु आइतबार राति त्यस होटलमा बस्न आएको होटल व्यवसायीले जनाएका छन् । उनीहरुको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ ।