सन्धिखर्क, अर्घाखाँची – नेकपा एमाले अर्घाखाँचीका उपाध्यक्ष तथा जनसंगठन समन्वय विभाग प्रमुख शम्भुप्रसाद पोख्रेलले माओवादी केन्द्रमाथि गम्भीर आरोप लगाएका छन्। शनिबार नेपाल उद्योग व्यवसायी महासंघ सन्धिखर्क नगर समितिको पहिलो नगर अधिवेशनमा बोल्दै पोख्रेलले माओवादीले नेकपा एमाले र नेपाली कांग्रेस फुटाउने योजना अघि बढाएको दाबी गरे।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेत माओवादीको ‘उक्साहट’मा रहेको आरोप लगाउँदै पोख्रेलले भने, “विद्यालाई राष्ट्रपतिको पदमा पुर्याउँदा अध्यक्ष केपी ओलीले गाली मात्र खाए, तर विद्याले कुरा बुझिनन्। अहिले उनी माओवादीको इसारामा चलेकी छन्।”
उनले एमाले फुटाउने योजनाको पछाडि पनि माओवादीकै हात रहेको आरोप लगाए। “माधव नेपाललाई पनि माओवादीले उस्काएर अलग पार्टी बनाइयो। अब फेरि एमाले र कांग्रेस दुबैलाई विभाजित गर्ने खेल सुरु भएको छ,” पोख्रेलले दाबी गरे।
पोख्रेलले माओवादीको शैली पुरानै भएको आरोप लगाउँदै भने, “देशमा स्थायित्व होइन, अस्थिरता ल्याउने माओवादीको रणनीति फेरिएको छैन। अहिले पनि उही चाल दोहोरिँदै छ।”