अर्घाखाँची । अर्घाखाँचीमा रवी लामिछानेको पक्षमा ७ हजार अधिक हस्ताक्षर सङ्कलन गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका सभापति हरिप्रसाद भुसालले पार्टीका अध्यक्ष रवी लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनसमर्थन सङ्कलन गर्न सुरु गरिएको हस्ताक्षर अभियानप्रति गाउँ–गाउँमा सकारात्मक प्रतिक्रिया देखिएको बताएका हुन् ।
गाउँस्तरमा जनमत बुझ्नका लागि टोलीसहित गाउँ पसेका भुसालले सामाजिक सञ्जालमार्फत अभियानका क्रममा देखिएका तीनवटा मुख्य पक्ष सार्वजनिक गरेका छन्। उनका अनुसार गाउँका सर्वसाधारण रास्वपाको पक्षमा उभिन तत्पर देखिएका छन्।
“धेरैले हस्ताक्षर अभियान कहिले आउँछ भनेर कुरिरहेका थिए। अभियानप्रति चासो र आत्मीयता अत्यधिक पाइयो, जिल्लाभर ७ हजार अधिकको हस्ताक्षर सङ्कलन गरेका छौ, वडाको रिपोर्ट आउन बाकी छ । ” सभापति भुसालले भने।
भुसालका अनुसार गाउँ भ्रमणको क्रममा निम्न तीन पक्षहरू विशेष रूपमा देखिए: अभियानमा देखिएका तीन मुख्य पक्ष:
हस्ताक्षरप्रति उत्साह:
नागरिकहरू रवी लामिछानेको समर्थनमा हस्ताक्षर गर्न आतुर देखिएको उनले बताए। अभियानका टोलीहरू पुग्ने वित्तिकै स्थानीय बासिन्दाले अभियान सुरु भएकोमा खुसी व्यक्त गरेको उल्लेख गरिएको छ।
घण्टीप्रतिको झुकाव यथावत्:
अघिल्लो निर्वाचनमा रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ मा मतदान गरेका मतदाताहरूमा अझै पार्टीप्रतिको विश्वास कायमै रहेको पाइएको छ। धेरैले पार्टीलाई अझै पनि विकल्पका रूपमा हेर्ने गरेको भुसालको भनाइ छ।
जनप्रतिनिधिका कमजोरी प्रति असन्तुष्टि:
भुसालका अनुसार स्थानीय तहका केही निर्वाचित जनप्रतिनिधिहरूको कामप्रति असन्तुष्ट जनतालाई गुनासो पोख्ने माध्यम नपाएको महसुस गरिएको छ। हस्ताक्षर अभियानले उनीहरूका भावना व्यक्त गर्न सहयोग पुर्याएको दाबी गरिएको छ।
स्रोत अभावको संकेत
भुसालले अभियानलाई अझ प्रभावकारी बनाउन पार्टीका समर्थक तथा शुभेच्छुकहरूसँग ‘तन, मन र धन’ मध्ये जुनसुकै माध्यमबाट पनि सहयोग गर्न आग्रह गरेका छन्। स्रोतसाधनको अभावबीच पनि जनसहयोगले अभियान चलिरहेको उनले बताएका छन्।
भ्रमण र अभियानमा सहयोग पुर्याएका स्थानीय कार्यकर्ताहरू—लिला बाठा, भूमिका खत्री, उमेश बन्जाडे, बिष्णु भुसाल, बिष्णु थापा र गोपाल खनाललाई भुसालले धन्यवाद दिएका छन्। साथै, दक्षिण कोरियामा रहेका अर्घाखाँचीका युवाहरूले उपलब्ध गराएको साउन्ड सिस्टम व्यवस्थापनप्रति पनि उनले विशेष आभार तथा धन्यवाद व्यक्त गरेका हुन् ।