अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–१० तल्लोपाकुमा सुक्खा पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ।
शनिबार बिहान करिब ९ बजे घाँस काट्न र चिउरी टिप्न गएका ६६ वर्षीय गोबिन्द बुढामगर र ६७ वर्षीया श्रीमती श्यामकला बुढामगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
दुवै जना रोजा तुसारेपानीस्थित आफ्नो खर्यानतर्फ गएका थिए। घर फर्किन ढिला भएपछि परिवारले खोजीका लागि प्रहरीलाई जानकारी दिएको थियो।
स्थानीयवासी र प्रहरीले खोजतलास गर्दा उनीहरू सुक्खा पहिरोमा पुरिएको अवस्थामा फेला परेका थिए। ढुंगा लागेर शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए।
उनीहरूका तीन छोरी र दुई छोरा छन् । एक छोरा विदेश र एक पोखरा छन् । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।