काठमाडौँ । पत्रकार जमुना शर्मा श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्यमा नियुक्त भएकी छन्। शुक्रबार सूचना, सञ्चार तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले उनलाई नियुक्तिपत्र प्रदान गरेका हुन्।
सरकारको मन्त्रीस्तरीय निर्णयमार्फत समितिमा शर्मा समावेश गरिएको हो। उनी पोखरा एक्सप्रेस डटकमकी प्रधान सम्पादक हुन्, जुन पोखरा एक्सप्रेस मिडिया प्रालिद्वारा सञ्चालित छ।
साथै, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिकी महासचिवसमेत रहेकी शर्माले प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुखको जिम्मेवारीसमेत निर्वाह गरिसकेकी छिन्।
तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय शर्मा सम्पादकीय नेतृत्व, नीति निर्माण, समावेशी पत्रकारिता, महिला सशक्तीकरण, गुणस्तरीय सामग्री उत्पादन र श्रमजीवी पत्रकारको हकहितमा निरन्तर लागिपरेकी छिन्। सञ्चार क्षेत्रमा उनको योगदान उल्लेखनीय मानिन्छ।