अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रको प्रभावकारी उपयोग गरी आयआर्जन, उत्पादन र रोजगारीको सृजना गर्नुपर्नेमा जोड दिएका छन्। उनले खेर जाने वनजन्य स्रोतलाई व्यवस्थापन गर्दै उपभोक्ताको सहकार्यमा प्रांगारिक मल उत्पादनमा जोड दिनुपर्ने धारणा राखे।
सन्धिखर्क नगरपालिका–१० विहारस्थित डिभिजन वन कार्यालयको नर्सरी अवलोकनका क्रममा मुख्यमन्त्री आचार्यले जिल्लामा पर्याप्त मात्रामा पातपतिङ्गर खेर गइरहेको उल्लेख गर्दै भने, ‘खेर गइरहेका स्रोतलाई उपयोग गर्दै प्रांगारिक मल उत्पादन गर्ने हो भने खेतीमा पनि सुधार आउँछ, आम्दानी र रोजगारी पनि बढ्छ।’
उनले सामुदायिक वन उपभोक्ता समितिहरूलाई सक्रिय बनाएर पातपतिङ्गर संकलन गराउने र त्यसको माध्यमबाट अर्गानिक मल उत्पादन गर्ने कार्यलाई तीव्रता दिन निर्देशन दिए। मुख्यमन्त्रीका अनुसार सरकारले आवश्यक मेसिन र स्रोतसाधन उपलब्ध गराउने तयारी समेत गरेको छ।
शितगंगा नगरपालिका–१४ स्थित पाँचवटा सामुदायिक वनमा पातपतिङ्गर संकलन र प्रांगारिक मल उत्पादनको तयारी सुरु भइसकेको छ। दुई वटा पोखरी निर्माण सम्पन्न भइसकेको जानकारी दिँदै आचार्यले प्रदेश सरकारले अघि सारेको अर्गानिक कृषि अभियानलाई थप सबल बनाउन सामुदायिक वनको भूमिका महत्वपूर्ण हुने बताए।
उनले जिल्लाभर रहेका सामुदायिक वन उपभोक्ता समितिहरूलाई पातपतिङ्गर संकलनको अभियानमा एकजुट हुन आग्रह गरे। ‘वनको स्रोत साधन खेर जान दिनु हुँदैन, त्यसलाई उपयोग गरेर प्रदेशको अर्थतन्त्र बलियो बनाउन सबैले साथ दिनुपर्छ,’ उनले भने।