अर्घाखाँची -असार १५ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले २२ औं राष्ट्रिय धान दिवस–२०८२ को अवसरमा सम्पूर्ण कृषक, विज्ञ र कृषि क्षेत्रमा योगदान दिने सबैप्रति शुभकामना व्यक्त गरेका छन्।
आषाढ १५ लाई राष्ट्रिय धान दिवसका रूपमा २०६१ सालदेखि मनाउन थालिएको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले यस दिवसले कृषिको महत्व जनमानसमा थप गहिरो बनाएको बताए। ‘धान वालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने राष्ट्रिय नारासहित मनाइँदै गरिएको यस वर्षको धान दिवस हालको परिप्रेक्ष्यमा निकै सान्दर्भिक र प्रेरणादायी रहेको उनको भनाइ छ।
उनले नेपालको संविधानले नागरिकलाई सुनिश्चित गरेको खाद्य अधिकार प्राप्त गर्न सुदृढ नीति, व्यवहारिक कार्यक्रम र प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको औंल्याए। उन्नत बीउ, रासायनिक मलको समयमै आपूर्ति, खेतीको यान्त्रीकरण र दक्ष जनशक्ति उत्पादनमा सरकारले विशेष जोड दिइरहेको जानकारी दिए।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको तराई क्षेत्रलाई देशको ‘अन्नको भण्डार’ का रूपमा चिनिँदै आएको उल्लेख गर्दै खेतियोग्य जमिनको संरक्षण, बाँझो जमिनमा खेती प्रवर्द्धन तथा आयात घटाउँदै निर्यात बढाउनेतर्फ प्रदेश सरकार गम्भीर र सक्रिय रहेको स्पष्ट पारे।
उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, “खेतीमा बढ्दो लागत, मलको अभाव, यान्त्रीकरणको आवश्यकता लगायतका चुनौती समाधानका लागि सरकार निरन्तर क्रियाशील छ।”
मुख्यमन्त्री आचार्यले धान खेतीमा जलवायुमैत्री प्रविधिको प्रयोग, उत्पादन वृद्धिको प्रवर्द्धन, आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता तथा कृषि श्रमिकको सम्मान गर्ने संस्कार विकास गर्न राष्ट्रिय धान दिवसले सबैलाई प्रेरित गरोस् भन्ने शुभकामना सन्देश मार्फत व्यक्त गरेका हुन् ।