नेपाल राज्य संवाददाता
अर्घाखाँची- सन्धिखर्क नगरपालिकाले सदरमुकामको पाणिनि बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गर्ने ४० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई नगरपालिकाले ‘नगरप्रमुख छात्रवृद्धि कोष सञ्चालन कार्यविधि’ बनाएर ४० जना विद्यार्थीलाई पढाउने ११ औं नगरसभाको नीति तथा कार्यक्रमको समावेश गरेको छ ।
नगरप्रमुखमा निर्वाचित भएपछि पदवहाली गर्दा सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले पाणिनि क्याम्पसका ४० जना विद्यार्थीलाई निशुल्क पढाउने प्रतिबद्धता जनाएका थिए । क्याम्पसको उच्चशिक्षामा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थी छनोट गरेर क्याम्पसमा लाग्ने सबै शुल्क नगरपालिकाले व्यहोर्ने श्रेष्ठले बताए ।