अर्घाखाँची ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको विस्तारित बैठक आज जिल्ला पार्टी कार्यालय सन्धिखर्कमा सम्पन्न भएको छ। बैठकले महत्वपूर्ण राजनीतिक तथा सामाजिक कार्यक्रमहरु तय गर्दै आगामी दिनका गतिविधिहरू सार्वजनिक गरेको छ।
बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तीमा पार्टी सभापति रवि लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिशोधविरुद्ध जिल्लामा सशक्त जनहस्ताक्षर अभियान निरन्तर सञ्चालन गरिएको उल्लेख छ। साथै, यस अभियानमा सक्रिय रूपमा सहभागी भइरहेका सम्पूर्ण जिल्लावासीप्रति धन्यवाद व्यक्त गरिएको छ।
हस्ताक्षर अभियानको कार्यक्रम यस प्रकार रहनेछ:
शितगंगा नगरपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाका सबै वडामा आगामी असार १६ गतेदेखि हस्ताक्षर डेस्क सञ्चालन हुने छ। यसका लागि सम्बन्धित पालिका समितिले आवश्यक समन्वय गर्नेछ।
सन्धिखर्क नगरपालिका, भूमिकास्थान र मालारानी गाउँपालिकामा जिल्ला तहबाट कार्यक्रम सञ्चालन गरी प्रत्येक वडामा टोली परिचालन गरिनेछ।
सन्धिखर्क बजार क्षेत्रलाई केन्द्रित गर्दै भक्तिटोल, पाणिनीचोक र शान्ति बंगैचा चोकमा पनि हस्ताक्षर डेस्क सञ्चालन गरिनेछ।
संकलित हस्ताक्षर विवरण पालिका सचिवमार्फत जिल्ला सहसचिवले दैनिक संकलन गर्ने र जिल्ला सचिवमार्फत प्रदेश कार्यालयमा पठाइनेछ।
धान दिवस विशेष कार्यक्रम
यसैबीच, यही असार १५ गते धान दिवसको अवसरमा जिल्लाका सबै स्थानीय तहमा पालिका समितिहरूको संयोजनमा आफ्नै सिर्जनात्मक गतिविधिहरू गर्दै धान दिवस भव्य रूपमा मनाइने निर्णय समेत गरिएको छ।
रास्वपा अर्घाखाँचीका सभापति हरिप्रसाद भुसालले प्रेस विज्ञप्ति जारी गर्दै जनताको विश्वास र सहभागितालाई अझ सशक्त बनाउन पार्टी निरन्तर सक्रिय रहने स्पष्ट परेका हुन ।