शोभाखर पन्थी, अर्घाखाँची ।
नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले वर्तमान सरकार मुलुकको निम्ति बोझ भएको बताउनु भएको छ ।
नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र लुम्बिनी प्रदेश कमिटीको बैठकमा मन्तव्य राख्दै उहाँले सरकार हरेक क्षेत्रमा असफल बन्दै गैरहेको बताउनु भयो । कँडेलले वर्तमान सरकार जतिदिन टिक्छ मुलुकले त्यति नै बढी क्षति व्यहोर्दै जानुपर्ने भएकोले बिकल्प खोज्नु पर्ने समय आएको बताउनु भयो ।
नेकपा एमालेका केन्द्रीय सदस्य भुमिश्वर ढकालले राष्ट्रिय स्वाभिमान , बिकास र समृध्दिको निम्ति नेकपा एमालेको बिकल्प नभएको बताउनु भयो । उहाँले नेकपा एमालेलाई चौतर्फी घेरान्दी गरेर निकालिएको परिणाम राष्ट्र र जनताको निम्ति प्रतिउत्पादक भएको भन्दै एमालेको पक्षमा जनमत निर्माणमा जुट्न आग्रह गर्नुभयो । जनसंगठन समन्वय संयन्त्रका केन्द्रीय सहजकर्ता समेत रहनु भएका ढकालले पेसागत रक्षा,संगठन सुदृढीकरण र जनजिबीकाको सबालमा आवाज बुलन्द गर्न आग्रह गर्नुभयो ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिव तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक लक्ष्मण आचार्यको अध्यक्षता र सह-संयोजक नरेश कुमार भण्डारीको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका उपसचिब लिला राना,एमाले कपिलबस्तुका अध्यक्ष डम्बर शर्मा लगायतले मन्तव्य राख्नु भएको थियो ।
कपिलबस्तुको वाणगंगामा सम्पन्न बैठकले आगामी चैत मसान्त सम्म प्रदेश स्तरमा ३ दिने प्रशिक्षण कार्यक्रम संचालन गर्ने,अबधि सकिएका जनसंगठनको प्रदेश स्तरको अधिवेशन तथा भेला फागुन मसान्त सम्म र जिल्लाको बैशाख मसान्त सम्म सम्पन्न गर्ने लगायत पार्टी जिवनमा महत्व राख्ने बिभिन्न बिषयमा निर्णय लिएको नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य तथा प्रेस चौतारी नेपालका ईन्चार्ज मोहन चापागाईले जानकारी दिनु भयो ।
बैठकमा १९ वटा जनवर्गीय संगठनले आफ्नो संठनको वर्तमान अबस्था,संभावना,चुनौती र आगामी कार्ययोजना बारे रिर्पोटीङ गरेका थिए ।