केशव पन्थी-अर्घाखाँची, छत्रदेव ।
पछिल्लो समय सुधारको क्रममा रहेको छत्रदेव गाउँपालिकाका सामुदायिक विद्यालयहरूबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा मिश्रित तर आशालाग्दो नतिजा आएको छ। विभिन्न विद्यालयका विद्यार्थीहरू बीच प्रतिस्पर्धात्मक नतिजा देखिँदा गाउँपालिकाको शैक्षिक भविष्यप्रति आशावाद बढेको छ।
छत्रदेव–४ स्थित शारदा माध्यमिक विद्यालयले यसपालि उत्कृष्ट प्रगति गर्दै २५ जना सहभागीमध्ये १८ जनालाई सफल बनाएको छ। सोही विद्यालयका दुई छात्राले ३.७९ ग्रेड ल्याई विद्यालयको गौरव बढाएका छन्।
त्यस्तै, छत्रदेव–७ को सरस्वती माध्यमिक विद्यालयबाट ३७ मध्ये २५ जना विद्यार्थीले सफलता हात पार्दा विद्यालय परिवारमा खुसी छाएको छ। साथै, नेपाल राष्ट्रिय मावि, छत्रदेव–६ बाट ५१ जना सहभागीमध्ये २७ जना उत्तीर्ण भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा सुधार हो।
गाउँपालिकाका अन्य विद्यालयहरूमा पनि क्रमिक सुधार देखिएको छ। सार्वजनिक माध्यमिक विद्यालय, छत्रदेव–५ बाट १८ जना, जनकल्याण मावि छत्रदेव–७ बाट ६ जना, र सुरेथुम–८ स्थित सरस्वती माविबाट ७ जना विद्यार्थीले सफलता प्राप्त गरेका छन्।
यसैबीच, सार्वजनिक माविका एक विद्यार्थीले ३.८३ ग्रेड ल्याई गाउँपालिकाभर उत्कृष्ठ व्यक्तिगत उपलब्धि हासिल गरेका छन्।
यद्यपि केही विद्यालयमा अपेक्षित नतिजा आउन नसके पनि समग्रमा विद्यार्थी, शिक्षक र अभिभावकहरूको समन्वित प्रयासले शिक्षा क्षेत्रमा सकारात्मक संकेत देखिएको स्थानीयको बुझाइ छ। आगामी वर्षहरूमा सबै विद्यालयले सुधारको बाटो अँगाल्ने विश्वास गरिन्छ।
“मेहनत गरे उपलब्धि सम्भव छ भन्ने उदाहरण यसपटकको एसईई नतिजाले दिएको छ,” शारदा माविका प्रधानाध्यापकले बताए।
यस नतिजाबाट छत्रदेवका सामुदायिक विद्यालयहरूले अझै आत्मविश्लेषण गर्दै, आवश्यक सुधार र योजनाका साथ विद्यार्थीको भविष्य उज्वल बनाउने अपेक्षा गरिएको छ।

