अर्घाखाँची ।
पत्रकारिता शब्द आफैंमा जिम्मेवारी, निष्ठा र परिवर्तनको अर्को नाम हो। यो पेशा होइन, सपना हो। यो जागिर होइन, एउटा मिशन हो। पत्रकारिताको यात्रा सुरु गर्दा मानिससँग न त ठूलो सम्पत्ति हुन्छ, न त सुविधा, तर एउटा दृढ संकल्प हुन्छ-सत्य बोल्ने,सत्य लेख्ने न्यायको पक्षमा उभिने र समाजलाई सुसूचित बनाउने।
आज यही पत्रकारितामा कतिले आफ्नो सपनाको रेडियो खोले, अन्लाईन सुरु गरे, समाचार लेखे। गाउँठाउँका कुना-कन्दरामा पुगेर गरिबको पीडा टिपे, बाढीपहिरोका घटना पुर्याए, सडक दुर्घटनाको चित्कार, अस्पतालको करुण कहानी, शोषणमा परेका मजदुरको चीत्कार बोकेर देशैभरि खबर पुर्याए।
तर विडम्बना…
जब संघर्षसँगै थाकथक सुरु हुन्छ, जब समाजका दोषहरू उजागर गर्दा धम्की आउँछ, जब आफ्नै घरखर्च चल्दैन, जब रेडियो चलाउने लगानी डुब्छ, अन्लाईन चलाउन सकस हुन्छ अनि बाध्य भएर कतिले सपना बेच्नुपर्छ। कतिले कलम बोक्ने हातले विदेशको काँडेतार समाउन पुग्छ। आफ्नै देशमा स्थापित हुन नसकेर कतिले अन्लाईन बेचे, सपना थन्क्याए, अनि मुगलान पसे…।
देशमै टिकी पत्रकारिताको मैदानमा लड्न सक्ने अवस्था भए,
सपनालाई सपना मै जिउन सक्ने भरोसा भए,
कसैले आफ्नो अनलाइन, रेडियो वा कलम बेचेर विदेशको पिँजडामा पुर्नु पर्दैनथ्यो।
कतै साउदी कतारको धूलोमा पसिना बगाइरहेका पत्रकारका सपना अझै देशमै तैरिरहेका छन्। कतै मलेसियाको कारखानामा खटिरहेका युवाले कहिल्यै नभुल्ने गरी आफ्नो अन्लाईन बन्द गरेको दिन सम्झिरहेका छन्। उनीहरू देशमै टिक्न सकेका भए, आज कति नयाँ अनलाइन बन्थे, रेडियोहरू बज्थे, गाउँको आवाज उठ्थ्यो, सत्यतथ्य बाहिर आउथे र भ्रष्टाचारी झस्किन्थे।
बाल्यकालमै समाजमा देखिएका अन्याय, शोषण र बेमेल घटनाले पत्रकार बन्ने सपना रोप्छ। जब अरू टाढा फर्किन्छन्, पत्रकार भने अगाडि जान्छ। जोखिमको डर हुँदाहुँदै पनि साँचो उजागर गर्न कलम चलाउँछ, शब्द रेकर्ड गर्छ, क्यामेरा बोकेको हात थर्कन्छ तर सत्यका तस्वीर खिच्न पछि पर्दैन।
तर पनि…
जो बाँकी छन्, जो अझै देशमै छन्, जसले कलम समातेका छन्, जसले फोन बोकेका छन्-तिनीहरूले देश र समाजको सपना नबेचून्। संघर्ष सहून्, तर सपना नमारून्।
संकल्प… पत्रकारितामा लाग्नु भनेको सजिलो बाटो रोज्नु होइन। यहाँ कहिलेकाहीँ आफ्नो सुरक्षासँग सम्झौता गर्नुपर्छ, परिवारको मायाबाट टाढा हुनुपर्छ। तर, संकल्प भने अडिग हुन्छ। सत्य खोज्न, समाजका दुःखका कुराहरू बाहिर ल्याउन र शक्तिशालीहरूका नांगो चरित्र सार्वजनिक गर्न पत्रकार रातदिन खटिन्छ।
सपना… हरेक पत्रकारको मनभित्र एउटा सपना पलाएको हुन्छ—नयाँ पुस्ताले सुरक्षित, न्यायपूर्ण र सुसूचित समाजमा बाँचून्। गरिबको पीडा सुनियोस्, आम नागरिकको आवाज सुनियोस्। कसैले जब आवाज दबाउने प्रयास गर्छ, पत्रकारको सपना झन् चर्को भएर उत्रन्छ। किनभने यो सपना व्यक्तिगत छैन, यो लाखौँ निर्दोषहरूको सपना हो।
संघर्ष… पत्रकारिताको मार्गमा काँडै काँडा छन्। कहिले सत्ताको दबाब, कहिले अपराधीको धम्की, कहिले आफ्नै संस्थाको आन्तरिक राजनीति। तर पनि, जसले कलम समाएको छ, उसले कहिल्यै हिम्मत हार्दैन। गरिब बस्तीको धुलो, बाढी पहिरोको जोखिम, अदालतको गेट, अस्पतालको शोक-कभर गरिरहन्छ। नतिजा के हुन्छ? कहिलेकाहीँ सम्मान, तर धेरैजसो अपमान। तर पत्रकारको कलम अझै चलिरहन्छ।
निष्कर्षमा… पत्रकारिता सजिलो बाटो होइन। यो पीडा, जोखिम र निरन्तर संघर्षको यात्रामा उभिएको सपना हो। जसलाई केवल पैसा कमाउने बाटो चाहिन्छ, उसले यहाँ टिक्न सक्दैन। तर जसले समाज परिवर्तन गर्ने दृढ संकल्प बोकेको छ, उसको लागि पत्रकारिता एउटा महान अभियान हो। आफुमै परिवर्तन हो ।
सत्यको खोजीमा, सपनाको रक्षामा र संकल्पको बलमा अघि बढिरहने हरेक पत्रकारलाई नमन!