अर्घाखाँची, असार ११ ।
समयभन्दा अघि योजना सकाउने युवा निर्माण व्यवसायी कविराम खनाल सम्मानित भएका छन् ।
‘कामले नै चिनिन्छ मान्छे’ भन्ने भनाइ चरितार्थ गर्दै युवा निर्माण व्यवसायी कविराम खनालले फेरि एकपटक आफ्नो दक्षता प्रमाणित गरेका छन्। उनले तोकिएको समयभन्दा ४ महिना १० दिन अघिनै निर्माण कार्य सम्पन्न गरेर उदाहरणीय काम गरेका छन्।
उनको यस सराहनीय कार्यको उच्च मुल्याङ्कन गर्दै सडक पूर्वाधार कार्यालय अर्घाखाँचीले एक विशेष कार्यक्रमका बीच खनाललाई प्रमाणपत्र प्रदान गरी सम्मान गरेको हो।
सम्मान कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ, सडक पूर्वाधार कार्यालय प्रमुख गोपिराज पुन मगर लगायतको उपस्थिति रहेको थियो।
योजनाभन्दा पहिल्यै गुणस्तरीय निर्माण सम्पन्न गरेर पहिलेदेखि नै चर्चा कमाउँदै आएका खनाल यसअघि पनि थुप्रै यस्ता सम्मान पाइसकेका छन्।
युवा व्यवसायी तथा सामाजिक व्यक्तित्वको रूपमा परिचित खनालको अहिले सामाजिक सञ्जालमा प्रशंसा भैरहेको छ ।

