अर्घाखाँची ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा अर्घाखाँचीका नेता चन्द्रबहादुर खड्का ‘उज्ज्वल’ ले हालका नयाँ युवापुस्ताले नेपालको १० वर्षीय सशस्त्र जनयुद्धको इतिहास नबुझेको धारणा व्यक्त गरेका छन्।
कार्यक्रममा बोल्दै अहिलेका धेरै युवाहरूका लागि प्रचण्ड, शेरबहादुर र केपी शर्मा ओली एउटै हुन् भन्ने बुझाइ रहेको छ, जुन ऐतिहासिक दृष्टिकोणले त्रुटिपूर्ण छ।
“युवाहरूले हिजोको त्याग, बलिदान र परिवर्तनका आन्दोलनहरूको मूल्य नबुझ्दा नयाँ अनुहारप्रति मात्र आकर्षण देखिएको छ,” उज्ज्वल भन्छन्, “त्यसैले रवि, हर्क, बालेनजस्ता पात्रहरूले चुनाव जित्न सफल भएका छन्।”
उनको तर्क छ-इतिहासको ज्ञान बिना वर्तमानको सही मूल्याङ्कन हुन सक्दैन। “हामीले आफूले सुरु गरेको आन्दोलनलाई सम्झनुपर्छ, र नयाँ पुस्तालाई त्यो चेतना हस्तान्तरण गर्न जरुरी छ,” उनले थपे।
राजनीतिक वृत्तमा अहिले भइरहेका परिवर्तन, पुराना दलप्रति जनताको वितृष्णा र वैकल्पिक शक्तिप्रतिको आशाले नेपाली राजनीतिमा नयाँ मोड ल्याइरहेको सन्दर्भमा नेता उज्ज्वलको टिप्पणी रहेको छ ।

