दाङ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आफ्नो जन्मदिनको अवसरमा श्रीखण्डको विरुवा रोपण गरेर मनाएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्माणाधीन भवनको परिसर क्षेत्रमा श्रीखण्डका विरुवा रोपेर मनाएका हुन् ।
बुधवार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट र उपाध्यक्ष कमलापती चौधरीले मुख्यमन्त्रीलाई जन्मदिनको अवसरमा आँपको विरुवा उपहार प्रदान गरेका थिए । उक्त विरुवा मुख्यमन्त्री निवासको परिसरमा रोपिएको छ ।
मुख्यमन्त्री आचार्यले भने, “हरेक जन्मदिनमा एउटा विरुवा रोप्ने संकल्प लिएको छु। प्रकृतिप्रतिको माया र जिम्मेवारी यसरी व्यक्त गर्न पाउँदा गर्व लाग्छ।”
विरुवा रोपण कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेश सरकारका सचिवहरूको सहभागिता रहेको मुख्यमन्त्री आचार्यको सचिवालयले जानकारी दिएको हो ।
श्रीखण्डमा औषधीय गुण हुने गर्दछ । यो विरुवा तराई, पहाड तथा हिमपात नहुने क्षेत्रमा सजिलै हुर्कन सक्ने प्रजाति हो । श्रीखण्डको काठ र तेल दुवै अत्यन्तै उपयोगी र प्रसिद्ध मानिन्छ । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा यसको खेती हुँदै आएको छ ।
यो जन्मदिन केवल व्यक्तिगत उत्सव नभएर वातावरणप्रतिको प्रेमको अभिव्यक्तिसमेत बन्यो। यस्ता सचेत र सकारात्मक कार्यहरूबाट अरूलाई पनि प्रेरणा मिल्नेछ।