दाङ।
दाङको तुलसीपुरमा आफ्नै साथीको कुटपिटबाट घाइते भएका १४ वर्षीय किशोरको उपचारको क्रममा मृत्यु भएको छ । रुकुमको बाफिकोट घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ दुधेना बस्ने विशाल गिरीको साथीको कुटपिटबाट मृत्यु भएको हो ।
गिरीलाई जेठ १९ गते बेलुकी तुलसीपुर ९ बेलुवामा उनकै साथी १५ वर्षीय यज्ञ वलीले कुटपिट गरेका थिए ।
कुटपिटबाट टाउकोमा चोट लागेका विशाललाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा लगिएको थियो । घाइते गिरीको उपचारका क्रममा गएराति मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सुर्य रानाले जानकारी दिए ।
कुटपिटमा संलग्न वलीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । विशाल र यज्ञ साथी भएको र सामान्य विवादमा कुटपिट हुँदा विशालको मृत्यु भएको प्रहरीले जनाएको छ ।