रुपन्देही – रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिएको छ।
साउन १९ गते लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा निवेदन दर्ता गरेका थिए। उनले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा आफ्नो भागको ठगी रकम बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत समेत पेश गरेका थिए। तर, सोमबार न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त माग अस्वीकार गर्दै थुनामै पठाउने निर्णय सुनायो।
यसअघि, गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो, जसलाई सर्वोच्च अदालतले पनि सदर गरिसकेको छ। चैत २२ गते काठमाडौँबाट पक्राउ परेका लामिछाने हाल जिल्ला कारागार भैरहवामा छन्।
सोमबारको सुनुवाइमा सरकारी पक्षबाट सहन्यायाधीवक्ता सोमाकान्त भण्डारी, जिल्ला न्यायाधीवक्ता प्रेम पौडेल, सहायक जिल्ला न्यायाधीवक्ता हिरालाल भोलन र दामोदर गौतमले बहस गरेका थिए। प्रतिवादी पक्षमा वकिल नाराय कँडेल, राजेन्द्र थापा र महेन्द्र पाण्डे उपस्थित थिए।