हिम लेकाली,अर्घाखाँची ।
नेपाल औषधि व्यवसायी संघ अर्घाखाँचीले आफ्नो २८औं स्थापना दिवस आइतबार सन्धिखर्कमा एक कार्यक्रमबीच मनाएको छ।
स्थापना दिवसको अवसरमा संघले सन्धिखर्क नगरपालिका–१ रूब्दी हर्सिङ्खोर निवासी एक असहाय महिला फुर्सी नेपालीलाई राहत सामग्री वितरण गरेको छ। ७० वर्षीया फुर्सी नेपालीको स्थायी घर सन्धिखर्क नगरपालिका–१० बराप भए पनि श्रीमानको निधन र छोरा–छोरी तथा आफन्तले हेर्न छाडेपछि उहाँ विगत सात वर्षदेखि रूब्दी क्षेत्रमा बस्दै आउनुभएको छ।
हाल उहाँले वृद्धभत्ता र कसैले दिएको सहयोगकै भरमा जीवन निर्वाह गर्दै आउनुभएको छ। स्थानीय बासिन्दाले बागी खोलाको किनारमा अस्थायी बास (झुप्रो) निर्माण गरिदिएका छन्। दम रोगबाट पीडित उहाँको अवस्थालाई मध्यनजर गर्दै संघले उहाँ बसोबास गरिरहनुभएको स्थानमै पुगेर आवश्यक औषधि, ओढ्ने न्यानो कपडा तथा खाद्यान्न सामग्री प्रदान गरेको हो।
संघका अध्यक्ष रामप्रसाद अधिकारीले प्रत्येक वर्ष स्थापना दिवसको अवसरमा जिल्लामा रचनात्मक कार्यक्रम तथा राहत वितरणजस्ता सामाजिक कार्य गर्दै आइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार पालिकासँगको समन्वयमा लागूऔषध दुर्व्यसन विरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ भने विगत वर्ष जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीलाई लागू पदार्थ सेवन गर्नेहरूको परीक्षणका लागि ‘लापसे किट’ स्टिकरसमेत वितरण गरिएको थियो।
कार्यक्रममा प्रदेश सदस्य तथा जिल्ला सल्लाहकार नारायण पौडेल, पूर्व अध्यक्ष एवं जिल्ला सल्लाहकार लिलामणि ढुङ्गाना, संघका उपाध्यक्षद्वय कृष्णप्रसाद बन्जाडे र हरि प्रसाद खनाल, महासचिव तिलक मिश्र, कोषाध्यक्ष विष्णु प्रसाद भुसाल, सचिव सूर्यबहादुर थापा, सदस्य सीता आचार्य (पौडेल) तथा औषधि व्यवसायी नारायणप्रसाद गैरेलगायतको उपस्थिति रहेको थियो।

