रामप्रसाद आचार्य
रुपन्देही । जंगली च्याउ खादा विरामी परेका रोल्पाका ३ जनाको उपचारका क्रममा रुपन्देहीमा मृत्यु भएको छ । असार २८ गते जंगली च्याउ खादा रोल्पा लुंग्री गाउँपालिका वडा नं ५ कालापोखराका एकै परिवारका ३ जना बिरामी परेका थिए । वडाध्यक्ष रिखबहादुर रोकाका अनुसार उनीहरुमध्ये एक जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र २ जनाको भैरहवास्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
गाउँमा यस्तो दुःखद घटना भयो, ४ दिनअघि जंगली च्याउ खाएर बिरामी परेको गुरुङ परिवारमा यस्तो विपत्ति आइलाग्यो, उपचारका क्रममा १ जनाको बुटवल र २ जनाको भैरहवामा मृत्यु भयो, पोष्टमार्टम गरेर शव ल्याउन गाउँपालिकाको एम्बुलेन्स र गाडी गएको छ’ उनले नेपाल प्रेससँग भने । ६ वर्षका प्रेम गुरुङको २८ असारमा बुटवलमा र ११ वर्षका सुशील गुरुङको ३० असारमा र आमा भीमाको आइतबार भैरहवामा मृत्यु भएको उनले बताए । २८ असारमा जंगलबाट ल्याएको च्याउ खाएका कारण विरामी भएका उनीहरुलाई स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि बुटवल ल्याइएको थियो ।
बुटवलमा पनि उपचार हुन नसकेपछि २ जनालाई भैरहवा पठाइएको थियो । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले उपचारका क्रममा ३ जनाकै मृत्यु भएको जनाए । मृत्यु हुनेमा लुंग्री गाउँपालिका–५ कालापोखरा घर भएका ३३ वर्षीया भीमा गुरुङ उनका ११ वर्षका छोरा सुशील गुरुङ र ६ वर्षका छोरा प्रेम गुरुङ रहेका छन् ।